© २०२३
काठमाडौँ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि तयारी गरेको हो ।
बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।
हाल चितवन–पर्सा कम्प्लेक्स र बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहे पनि शुक्लाफाँटा तेस्रो कम्प्लेक्समा परेकोले उक्त स्थानमा गणना पहिलो र दोस्रो कम्प्लेक्सको काम सकिएपछि सुरु गरिने छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
उनका अनुसार तेस्रो कम्प्लेक्सअन्तर्गत शुक्लाफाँटामा बाघ गणना हुनेछ । निकुञ्ज कार्यालयले जनशक्ति तयारी अवस्थामा राखेको छ । “बाघ गणनाका लागि सबै तयारी पूरा भइसकेको छ र आवश्यक जनशक्तिसहित हामी तयार छौँ”, उनले भने । “विभागबाट तालिम पनि सञ्चालन भइसकेको छ । पहिलो र दोस्रो कम्प्लेक्समा गणना सकिएर क्यामरा यहाँ आएपछि गणना सुरु हुनेछ ।”
पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ रहेका थिए भने निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यसवर्ष ४३ बाघ फेला परेका छन् ।
वाग्लेका अनुसार, “शुक्लाफाँटा सानो क्षेत्रफलमा भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले बाघको सङ्ख्या बढेको हो ।”
निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रतिवर्ग किलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।