© २०२३
पछिल्ला केही वर्षयता जीवनशैलीमा आएको परिवर्तनले तनाव, दैनिक जीवनमा अस्तव्यस्तता र कामको अतिरिक्त बोझले विभिन्न रोगहरू निम्त्याएको छ ।
यही कारण मानिसमा अशान्ति, चिन्ता, अल्जाइमर्स, डिप्रेसन, मधुमेह, मुटुका रोगहरू, मोटोपन, बाँझोपन आदि जस्ता स्वास्थ्यसँग सम्बन्धित रोगहरू बढ्दै गइरहेका छन् । यसको निदानका लागि मानिसले धेरै प्रयास र प्रयत्न गर्दै आएको छ ।
फलस्वरूप पछिल्लो समय मानिसको आकर्षण योग तथा ध्यानतर्फ केन्द्रित भइरहेको छ । तनाव कम गर्ने कारणहरूको खोजी गर्दै गर्दा मानिसमा ध्यानले आकर्षण गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घले पनि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
२०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्र सङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । जस अनुसार आज आइतबार देश भरी योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरि ध्यान दिवस मनाइने भएको छ ।
ध्यानमार्फत व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन् । अन्यले ज्ञान मार्ग, योग मार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन् । यही नै ध्यान मार्ग हो । ध्यानले आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ । ध्यान आत्म चिन्तनको शक्तिशाली माध्यम हो ।
विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउँछ । त्यसैले आजको दिन विशेष गरी तनाव व्यवस्थापन, आत्म चिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन कार्यक्रम, सेमिनार र कार्यशालाहरू आयोजना गरिँदै आएको छ ।
त्यसो त विश्वभर ध्यानको जागरण बढिरहेको छ । ध्यान अब स्वस्थ समाजको लागि नभई नहुने कुरा भएको प्रमाणित भइसकेको छ । यो दिन प्रकृतिको ऊर्जा सबैभन्दा गहिरो र स्थिर अवस्थामा हुने विश्वास गरिन्छ । यसैले यो समय आत्म निरीक्षण, आत्म शुद्धि र आन्तरिक रूपान्तरणका लागि उपयुक्त मानिन्छ ।
नेपाल जस्तो ज्ञान र योग प्राणायामको तपो भूमिको लागि त ध्यान दिवसको घोषणाले कालान्तरमा धेरै फाइदा पु-याउँदछ । नेपाल हिमालको काखमा अवस्थित ध्यान, योग र साधनाको प्रमुख केन्द्र हो । भगवान् शिवले यहीं ध्यान र साधना गर्नुभएको थियो । उहाँका शिष्य सप्त ऋषिहरूले यसलाई फैलाएका थिए ।
२५६५ वर्षअघि सिद्धार्थ गौतमबद्धको जन्म भएको नेपाललाई ध्यान र योगको वैश्विक केन्द्र बनाउन सकिन्छ । त्यसैले यो समय ध्यान गर्नेहरूको लागि सबैभन्दा ठुलो चाड हो, उत्सवको समय हो । यो दिनले हामीलाई आन्तरिक शान्ति, समर्पण र आत्म समाधानको मार्गमा अघि बढ्न प्रेरित गर्छ ।
शरीरलाई स्वस्थ राख्न दैनिक व्यायाम जस्तै मनलाई स्वस्थ र स्थिर राख्नु आवश्यक छ । एक दिन ध्यान दिवस मनाउँदा प्रेरणा मिल्छ, तर सच्चा परिवर्तन नियमित अभ्यासबाट मात्र सम्भव छ । जेहोस ढिलै भएपनि संयुक्त राष्ट्र सङ्घले ध्यान दिवस मनाउने औपचारिक निर्णय गरेर स्वागतयोग्य काम गरेको छ ।
यी बाहेक यस्ता दीर्घकालीन समस्याको समाधानको अर्को माध्यम योग हो । योगले मन, शरीर र मस्तिष्कलाई जोडेर एकाकार बनाउँछ । कम्तीमा पनि ३ देखि १२ हप्तासम्मको नियमित योग अभ्यासबाट जीवनशैली सम्बन्धी समस्याहरूको समाधान हुने विश्वास गरिन्छ ।
योग अभ्याससँगै दीर्घ रोगहरू समाधान गर्ने अर्को निकै महत्त्वपूर्ण विधि हो ध्यान । ध्यानलाई निकै जटिल अध्ययनको क्षेत्र मानिन्छ तापनि विगत ४० वर्ष अघिदेखि नै यस विषयमा विभिन्न अनुसन्धानहरू भई विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू समेत हासिल भएका छन् ।
व्यक्तिलाई शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक स्वास्थ्यको उच्चतम तहसम्म पु¥याउन जतिसुकै सुख सुविधा प्राप्त भए तापनि जीवनशैलीका कारण प्रायः असम्भव भएको छ । यस्तो अवस्थामा ध्यान एउटा त्यस्तो सशक्त माध्यम हो, जसले व्यक्तिको सर्वाङ्गीण विकासमा मद्दत गर्छ । तसर्थ ध्यान दिवसलाई सार्थक बनाऔँ ।