© २०२३
रुपन्देही ।
औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीमा पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र राखिएका पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको अवलोकनकर्ताले जनाएका छन् ।
यो प्रदर्शनीमा लिथो मेशिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी –तराजु), फोटो खिच्ने पुरानो भाडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरनो फोटा छाप्ने मेशिन, टेलिफोन, रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामो फोन, भिडियो क्यामेरासहितका पुराना सामग्रीप्रति अवलोकनकर्ताको बढी चासो रहेको र ती सामग्रहीहरुको फोटाभिडियो बनाउनेको भीड लागेको छ ।
फोटो प्रदर्शनीमा उद्योगधन्दा स्थापना हु“दै गरेको अवस्था, परम्परागत उद्योगदेखि आधुनिक उत्पादनसम्मको विकासक्रम, स्थानीय उद्यमशीलताको संघर्ष र सफलताका क्षण समेटिएका तस्बिरले औद्योगिक क्षेत्रको यथार्थ उजागर गरेको उनीहरुको भनाई छ । फोटा प्रदर्शनी अवलोकनमा आएका प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा, आचार्य, सदस्य शान्तराम बिडारी, उपप्रशासकीय अधिकृत रामशरण बोहोरासहितको टोलीले पत्रकारिताको जीवन्त झल्काएको जनाएका छन् ।
‘यस्ता प्रदर्शनीले नयाँ पि“ढीलाई इतिहासको जीवन्त जानकारी दिन्छ, पुराना विषयहरु संरक्षण हुन्छन् र पत्रकारिताको महत्व समाजले बुझ्न सहज हुन्छ, सदस्य बिडारीले बताउनुभयो । उद्योग र पत्रकारिताबीचको सम्बन्धलाई बलियो बनाउन र औद्योगिक विकासमा सञ्चारको योगदान कति महत्वपूर्ण छ भन्ने सन्देश दिनका लागि पत्रकार महासंघसँग समन्वय गरेर फोटा प्रदर्शनीलाई जोडेको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो । उद्यमीका समस्या, श्रमिकका कथा र उत्पादन प्रक्रियाका दृश्यले दर्शकलाई उद्योगभित्रको वास्तविक संसारसँग जोडेको उहाँको भनाइ छ ।
पर्यटनसम्बन्धी तस्बिरले लुम्बिनी, पहाड–तराईका प्राकृतिक गन्तव्य, सांस्कृतिक सम्पदा र ग्रामीण पर्यटनको सम्भावना उजागर गरेका छन् । ती तस्बिरले पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिकालाई बलियो बनाउँदै दृश्य सञ्चार कति प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरेका छन् । धेरैले नाम मात्रै सुनेका स्थानलाई प्रत्यक्ष देख्न पाउँदा आन्तरिक पर्यटनप्रति चासो बढ्ने अपेक्षा गरिएको प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले जानकारी दिनुभयो ।
प्रदर्शनीमा वातावरण संरक्षणसँग सम्बन्धित फोटो प्रदर्शनीको अर्को सशक्त पक्ष बनेको र नदी, वन, वन्यजन्तु, प्रदूषण, जलवायु परिवर्तनका असर र संरक्षण अभियानका तस्बिरले विकास र वातावरणबीचको सन्तुलनबारे सोच्न बाध्य बनाएको अवलोकनकर्ता मित्रबहादुर शाक्यले बताउनुभयो । पत्रकारिताले तथ्य र दृश्यका माध्यमबाट वातावरणीय मुद्दालाई कसरी सार्वजनिक बहसमा ल्याउन सक्छ भन्ने कुरा यी तस्बिरले स्पष्ट पारेको अवलोकनका लागि पुग्नुभएका अध्यापक हुमराज भुसालले बताउनुभएको छ । उहाँले यसआलको प्रदर्शनीले नयाँ पुस्तालाई इतिहास जान्न सहज भएको जनाउनुभयो । प्रदर्शनीमा संस्कृति संरक्षणका तस्बिरले जातजातिका पहिचान, परम्परागत भेषभूषा, चाडपर्व, लोककला र सामाजिक जीवनशैलीलाई दस्तावेजीकरण गरेका छन् । समयसँगै हराउँदै जान सक्ने सांस्कृतिक सम्पदालाई फोटोमार्फत सुरक्षित गर्ने काम पत्रकारिताले गरिरहेको सन्देश प्रदर्शनीमा राखिएको र यसले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने विश्वास गरिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघको फोटो प्रदर्शनीको सबैभन्दा ठूलो फाइदा भनेको पत्रकारिताको इतिहासलाई जनतासँग प्रत्यक्ष भेट गराउनु भएको उहाँको भनाइ छ । छापा, रेडियो, टेलिभिजन हुदै डिजिटल युगसम्म आइपुग्दाको यात्रा हेर्दा पत्रकारिताले समाजमा पारेको प्रभाव स्पष्ट देखिएको यसले पत्रकारप्रति जनविश्वास बढाउने, मिडियाको जिम्मेवारीबोध बलियो बनाउने र अभिलेख संरक्षणको महत्व बुझाउने काम गरेको अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईले बताउनुभयो ।
औद्योगिक प्रदर्शनीजस्तो भीडभाड हुने स्थानमा फोटो प्रदर्शनी राखिनुले हजारौं दर्शकसम्म पत्रकारिता र सामाजिक मुद्दाका सन्देश र्पुयाएको छ । उद्योग, पर्यटन, वातावरण र संस्कृति संरक्षणलाई एउटै सूत्रमा बा“धेर प्रस्तुत गरिएको यस प्रदर्शनीले सञ्चार माध्यम केवल समाचार दिने साधन मात्र नभई समाजको ऐना र इतिहासको अभिलेख पनि हो भन्ने सन्देश प्रभावकारी रूपमा दिएको छ ।
अवलोकनकर्ता पुनम थापा, गुल्मीको रुरुक्षेत्र १ का परमानन्द ज्ञवाली, रुपन्देहीका घनश्याम श्रेष्ठ, सन्तोष बिक, न्यू होराइजनका विद्यार्थीहरुको समूहले यस्ता प्रदर्शनीलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रदर्शनीको शुरुवातमै राखिएका यी तस्बीरहरुले धेरैको ध्यान केन्द्रीत गरेको छ । शनिबार यहाँ आएका भारतको गिडा औद्योगिक क्षेत्रका उद्योगीहरुले यसलाई विशेष चासोका साथ हेरेको वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले बताउनुहुन्छ ।
प्रर्दशनीमा अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेश भट्टराई, हेमन्त शर्मालगायतका कलाकारले आफ्नो प्रस्तुती देखाईसकेका छन् । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेका् उपाध्यक्ष युवराज आचार्य बताउनुहन्छ ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहेको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने गोष्ठी उपसमिति संयोजक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।