© 2026
बुटवल, ६ पुस ।
रुपन्देहीको कञ्चन गाउँपालिका–३, धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् ।
शर्माको शव तीन दिनअघि घर नजिकैको नालीमा भेटिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानमा पर्याप्त तदारुकता नदेखाएको र संलग्न व्यक्तिहरू पत्ता लगाउन नसकेको भन्दै टोल विकास संस्था, आमा समूह लगायतले प्रहरीलाई दबाब दिन घेराउ गरेको हो ।
तीन हजारभन्दा बढी स्थानीयहरू स्वस्फुर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको मृतक ईशानका पिता पुष्पराज शर्माले बताएका छन् ।
पोष्टमार्टममा चिकित्सकले टाउकोमा लागेको चोटका कारण रगत बग्दा मृत्यु भएको पुष्टि गरेका छन् । यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै सबैसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । शव घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको अवस्थामा फेला परेको थियो । शव फेला पर्दा टाउकोको पछाडि भागमा चोट देखिएको थियो । घटनास्थलमा भने रगत चुहिएको वा लतपतिएको केही देखिएको थिएन ।