© २०२३
लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ८ ले व्यावसायिक कृषिमा संलग्न कृषकलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा पानी तान्ने पम्पसेट वितरण गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत वडा नम्बर ८ ले गरीब, विपन्न, दलित, पिछडिएका तथा मुस्लिम समुदायका कृषकको पहिचान गरी कुल ७५ थान पम्पसेट वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र जैसवालले जानकारी दिए।
वडा अध्यक्ष जैसवालका अनुसार कृषकहरूको उत्पादन लागत घटाउने, सिँचाइ सुविधा विस्तार गर्ने र खेतीपातीलाई व्यावसायिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। “५० प्रतिशत अनुदानमा पम्पसेट उपलब्ध गराउँदा सिँचाइमा सहजता आउने र कृषकको उत्पादन क्षमतामा वृद्धि हुने विश्वास लिएका छौँ,” उनले बताए।
पम्पसेट वितरण कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजनले कृषि क्षेत्र स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गरिन्। कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरपालिकाले अनुदान कार्यक्रम सञ्चालन गरेको उनले बताइन्।
“कृषकको मेहनत र पसिनाको सम्मान गर्दै सिँचाइ समस्याको समाधानका लागि ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिएको हो,” उनले भनिन्, “यसले उत्पादन वृद्धि हुनुका साथै कृषकको आयस्तर सुधारमा ठोस योगदान पुर्याउनेछ।”
कार्यवाहक मेयर हरिजनले आगामी दिनमा पनि कृषि प्रवर्द्धनसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले अनुदानमा प्राप्त पम्पसेटको उचित सदुपयोग गर्न कृषकलाई आग्रह गरिन्।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।