© २०२३
बर्दघाट ।
बर्दघाट चुरे उद्यान क्षेत्रमा स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको संयुक्त श्रमदान कार्यक्रम गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत त्रिवेणी चोकबाट उत्तरतर्फको बन क्षेत्र हुँदै करिब ४ किलोमिटर दूरीमा रहेको कैलाश धामसम्म पुग्ने गोरेटो मार्ग निर्माणका लागि श्रमदान गरिएको हो ।
लामो समयदेखि स्थानीय युवाहरूको पहलमा उक्त गोरेटो मार्गको निर्माण तथा सौन्दर्यीकरण हुँदै आएको छ । आन्तरिक पर्यटनको उच्च सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन स्थानीय सरकार युवाहरूसँग हातेमालो गर्दै अघि बढेको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
नगरप्रमुख श्रेष्ठका अनुसार, प्राकृतिक सुन्दरता, शान्त वातावरण र धार्मिक महत्त्व बोकेको कैलाश धाम क्षेत्रको प्रवर्द्धनले बर्दघाटलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्नेछ ।
स्थानीय बासिन्दाहरूले बजारको कोलाहलपूर्ण जीवनबाट राहत लिँदै प्रकृतिको नजिक पुग्नका लागि यो क्षेत्र अत्यन्तै उपयुक्त भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय बिहानको समयमा मर्निङ वाक गर्नेहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा बढ्दै गएको उनीहरूको भनाइ छ ।
आज बिहानै सम्पन्न श्रमदान कार्यक्रममा सशस्त्र प्रहरी महाविद्यालय (तालिम केन्द्र) का करिब १५० भन्दा बढी सुरक्षाकर्मीको सहभागिता रहेको थियो । श्रमदानका क्रममा झाडी सरसफाइ तथा ट्याक (गोरेटो) निर्माणको काम गरिएको छ ।
स्थानीय सरकार, सुरक्षा निकाय र युवाहरूको सहकार्यमा भइरहेको यस्तो पहलले बर्दघाट चुरे उद्यान क्षेत्रको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।