नेपालगञ्ज, ४ पुस ।
भेरी अस्पताल नेपालगञ्माजमा चिकित्सकले मृत घोषणा गरेको नवजात शिशु केही घण्टापछि जीवित फेला परेको घटनाले अस्पताल प्रशासनलाई माफी माग्न बाध्य बनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा चिकित्सकीय कमजोरी भएको स्वीकार गरेका छन् ।
विज्ञप्तिमार्फत अस्पताल प्रशासनले उक्त घटनाका कारण शिशुका परिवारजनले भोग्नुपरेको मानसिक पीडाप्रति गहिरो सहानुभूति प्रकट गरेको छ । अस्पतालले यस घटनालाई गम्भीर मान्दै भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन सतर्कता अपनाउने प्रतिबद्धता पनि जनाएको छ ।
घटनाको विवरणअनुसार मंसिर २५ गते लेबर कक्षमा भर्ना भएकी एक गर्भवती महिलाले मंसिर २८ गते ६१७ ग्राम तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन् । जन्मेको भोलिपल्ट अर्थात् मंसिर २९ गते चिकित्सकले शिशुको मृत्यु भएको घोषणा गर्दै ‘शव’ आफन्तलाई जिम्मा लगाएका थिए । तर, शिशुलाई गाड्लन भनि लगेको करिब चार घण्टापछि परिवारजनले शिशुमा जीवित रहेको संकेत देखेपछि हतारिँदै पुनः अस्पताल ल्याएका थिए। दुर्भाग्यवश, अस्पताल ल्याएको केही समयमै शिशुको पुनः मृत्यु भएको थियो।
अस्पताल प्रशासनले यो घटनालाई ‘अपवाद’को रूपमा व्याख्या गरेको छ। २३ हप्तामै जन्मिएको र अत्यन्त कम तौल (६१७ ग्राम) भएको शिशुमा जीवित रहेको संकेत अत्यन्त ढिलोगरी देखिनु असामान्य भएको विज्ञप्तिमा उल्लेख छ।
अस्पतालले आफ्नो क्षमता अनुसार शिशुको उपचारमा अधिकतम प्रयास गरिएको दाबी गरे पनि बिरामीका आफन्तलाई सम्भावित परिणामबारे पर्याप्त रूपमा बुझाउने परामर्श प्रक्रियामा कमजोरी भएको स्वीकार गरेको छ । साथै, २८ हप्ता नपुगेको र एक किलोभन्दा कम तौल भएको शिशुलाई बचाउने सम्भावना अत्यन्त न्यून हुने तथ्य पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस घटनाले अस्पतालको सेवा प्रणाली, चिकित्सकीय सतर्कता र परिवारजनसँगको संवेदनशील संवादको आवश्यकता थप स्पष्ट रूपमा उजागर गरेको छ।