Butwal Today

अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो

४ पुष २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौँ, ४ पुस ।

अमेरिकाले अवैध रूपमा बस्दै आएका र कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको हो ।

डिपोर्ट हुनेमा ३ महिला र ७२ जना पुरुष रहेका छन् । उनीहरू अधिकांश तल्लो बाटो (अवैध बाटो) हुँदै अमेरिका गएका व्यक्ति रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

डिपोर्ट हुनेमा २ जना भिजिट भिसामा बस्नेहरू पनि छन् । त्यस्तै, ३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि डिपोर्ट भएका छन् ।

पंगेनीका अनुसार, “यसरी फर्किनेमा भिजिट भिसामा पुगेकाहरू पनि छन् । कोही ७ महिना जेल बसेका, कोही २ वर्षसम्म जेल बसेकाहरू पनि छन् । पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन् ।”

उहाँले थप्नुभयो कि यसरी फर्किएकाहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बयान दिएको बताएका छन् । डिपोर्ट भएका व्यक्तिहरूलाई अध्यागमन कार्यलयले बुझ्ने र थप अनुसन्धानका लागि ब्युरोमा पठाउने प्रावधान छ ।

अमेरिकाको राष्ट्रपति पदमा ड्रोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् । ट्रम्पले २०२५ जनवरी २० देखि सत्ता सम्हालेका हुन् ।  ब्युरोका अनुसार पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । यसअघि भदौ १९ मा ३७ नेपाली, र जेठ २५ मा पनि ३७ नेपाली डिपोर्ट भएका थिए ।

ट्रम्प राष्ट्रपति चयन भएसँगै आप्रवासी कडाइ गर्ने घोषणा गरेका थिए । अमेरिकी प्रशासनले १४ लाख ४५ हजार बढी विदेशी, जसमा १,३६५ नेपाली पनि रहेका छन्, देश निकाला गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?