© २०२३
बुटवल, ३ पुस ।
बुद्धिचाल खेल र खेलाडीको विकास गर्ने उद्देश्यका साथ बुटवलमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समितिको सहयोगमा रुपन्देही बुद्धिचाल सङ्घको आयोजनामा ३ दिने बुटवल मेयर कप प्रदेश स्तरीय रेटिङ बुद्धिचाल प्रतियोगिता २०८२ सुरु भएको हो ।
कार्यक्रमको एक समारोहका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यले उद्घाटन गर्दै खेल विकासमा स्थानीय सरकार र संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण रहेको बताए । लुम्बिनी प्रदेशको समग्र खेलकुदको भन्दा बुटवल उपमहानगरपालिकाको बजेट दोब्बर रहेको उनको भनाइ छ ।
विश्व बुद्धिचाल महासङ्घद्वारा जारी गरिएको फिडे रेटिङमा आधारित भएर प्रतियोगिता आयोजना भएको छ । बुद्धिचाल खेलाडीको कौशल–स्तरलाई जनाउन प्रयोग हुने अन्तर्राष्ट्रिय अङ्क–प्रणालीका आधारमा सहभागी खेलाडीको खेल कौशललाई अं कमा मापन गरिने छ ।
खेलमा सहभागीहरूको रेटिङ हुने हुँदा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न पाउने अवसर मिल्नेसंघका उपाध्यक्ष शिखर रेग्मीले बताए ।
कार्यक्रममा स्कलर्स होम बोर्डिङ स्कुलका प्राचार्य बाबुराम बन्जाडेले बौद्धिक र शान्त खेलका रूपमा चेसको विश्वमा नै प्रख्यात खेल भएको बताए । विश्वस्तमा राम्रो पहिचान भए पनि यो खेल नेपालमा भने अझै पनि बुझ्न र बुझाउन नसकिएको बताउँदै सचेतनामूलक कार्यक्रम र प्रतियोगितामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, रुपन्देही बुद्धिचाल सङ्घका अध्यक्ष गणेश थापाले अन्य क्षेत्रको तुलनामा बुटवलमा धेरै खेल गतिविधि हुँदा युवा खेलाडीहरूले अवसर पाएको बताए ।
प्रतियोगितामा रुपन्देहीसहित दाङ, बाके, बर्दिया, कपिलवस्तु, नवलपरासी लगायत विभिन्न जिल्लाका एक सय बढी खेलाडीहरू सहभागी रहेको प्रमुख निर्णायक विजय गुरुङले बताए ।