© २०२३
काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध गराइने जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, “विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार मास्टर लेभल सरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ ।”
फेलोसिप कार्यक्रममा सरकारी प्रतिष्ठानले उच्च शुल्क लिएको र निर्वाह भत्ता नदिएको भन्दै चिकित्सकहरूले विरोध जनाएका थिए । यसका कारण न्याम्सको फेलोसिप भर्ना कार्यतालिका नै प्रभावित भएको थियो । यसअघि १ पुसदेखि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको न्याम्सले शुल्क विवादका कारण भर्ना १५ दिन पछि सार्नुपरेको थियो ।
न्याम्सले सञ्चालन गर्दै आएको एक वर्षे फेलोसिप कार्यक्रममा अधिकतम ८ लाख ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ भने विदेशी चिकित्सकका लागि १८ हजार अमेरिकी डलर तोकिएको छ ।
न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतले फेलोसिप कार्यक्रमका प्रशिक्षार्थीलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको बताए । उनले भने, “चिकित्सा शिक्षा आयोगले तोकेको स्नातकोत्तर तहका प्रशिक्षार्थीले पाउने भत्ता बराबरको रकम दिने निर्णय गरिसकेका छौं । अहिले यो ४८ हजार रुपैयाँ छ । सबै सम्बन्धित कलेजलाई पत्र पठाइसकेका छौं ।”
डा. बस्नेतले फेलोसिपको शुल्क परिमार्जन गर्न छुट्टाछुटै समिति गठन भएको पनि बताए । तर, यी विषयहरू विद्यार्थीहरूको वास्तविक समस्याभन्दा चुनावी एजेन्डाको रूपमा बढी उठाइएको उनको दाबी छ । उनले भने, “यो मुद्दा अहिले चिकित्सक संघको चुनावी भोट माग्ने माध्यम बनेको छ ।”