© २०२३
काठमान्डौ, ३ पुष ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश सार्वजनिक गरेका छन् । देशको प्रशासनिक प्रणाली कछुवाको गतिभन्दा पनि निकै सुस्त रहेको उल्लेख गर्दै उनले यसले सुशासन र समृद्धिको यात्रामा गम्भीर अवरोध सिर्जना गरिरहेको बताएका छन् ।
आफ्नो छोटो कार्यकालमै देशहितका केही महत्वपूर्ण काम अघि बढाउने प्रयास गर्दा भोग्नुपरेका कठिन अनुभवहरू मन्त्री पुनले सार्वजनिक गरेका हुन् । कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण अपेक्षाअनुसार काम हुन नसकेको संकेत गर्दै उनले प्रणालीगत कमजोरीतर्फ ध्यानाकर्षण गराएका छन् ।
मन्त्री पुनले प्रशासनिक सुस्ततामात्र नभई प्रणालीभित्रै सक्रिय स्वार्थी समूहप्रति समेत कडा टिप्पणी गरेका छन् । कछुवा गतिमा अघि बढिरहेको प्रक्रियालाई समेत बिच–बिचमा ‘कृपावादी पापी समूह’हरूले अल्झाउने गरेको आरोप लगाउँदै उनले यस्ता तत्वका कारण काम अघि बढ्न नसकेको दाबी गरेका छन् ।
उनका अनुसार यिनै स्वार्थी समूह र जटिल कार्यप्रणालीका कारण देशमा प्रगति र सुशासन स्थापना गर्न कठिन भइरहेको छ । सुधारका प्रयासमा यस्ता प्रवृत्ति बाधक बनेको उल्लेख गर्दै मन्त्री पुनले वर्तमान प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
उनले लेखेका छन् :
प्रस्टसँग सोझै भन्नु पर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गति भन्दा पनि धेरै नै कम रहेछ । त्यही कछुवा गतिलाई पनि अझै कृपावादी पापी समूहहरूले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन् । अनि कसरी हुन्छ त देशमा सुशासन, प्रगति र समृद्धि रु छोटो कार्यकालमा देशको हितमा केही काम अगाडि बढाउन कोसिस गर्दाको अनुभव हो यो ।