बुटवल ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पिउने जार पानीमै किरा भेटिएको घटनाले बुटवलमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ। बुटवल राजमार्ग चौराहास्थित एक कन्सल्टेन्सीमा प्रयोग भइरहेको बिस्लेरी नामको जार पानीमा किरा भेटिएको हो ।
उक्त जार पानी रेसुङ्गा फुड एन्ड बेभरेज इन्डस्ट्रिजद्वारा उत्पादन गरिएको बताइएको छ । कन्सल्टेन्सीका कर्मचारीका अनुसार पूर्ण रूपमा सिलबन्दी अवस्थामा रहेको जार खोल्दा पानीभित्र किरा देखिएको थियो । दैनिक प्रयोगका लागि राखिएको पिउने पानीमै यस्तो अवस्था देखिनु सामान्य त्रुटि नभई गम्भीर लापरबाही भएको उनीहरूको आरोप छ ।
यस विषयमा रेसुङ्गा फुड एन्ड बेभरेज इन्डस्ट्रिजका सञ्चालक हरि गौतमले बुटवल टुँडेसँग प्रतिक्रिया दिँदै एक जना उपभोक्ताले फोनमार्फत जानकारी गराएको बताए । तर उनले उत्पादन प्रक्रियामा पानीमा किरा पर्न नसक्ने दाबी गर्दै जार लामो समय (कम्तीमा एक महिना भन्दा बढी) खुला वा प्रयोग नगरी राखिएको अवस्थामा यस्तो समस्या देखिन सक्ने तर्क प्रस्तुत गरे ।
“हामी नियमित रूपमा फिल्टर, सरसफाइ र गुणस्तर परीक्षण गर्छौँ । उत्पादनकै क्रममा पानीमा किरा पर्न सक्ने सम्भावना हुँदैन,” गौतमले भने, “लामो समयसम्म जार खुला राख्दा वा बाहिरी कारणले यस्तो हुन सक्छ ।”
तर उपभोक्ता विशाल गिरी भने कम्पनीको दाबीप्रति सन्तुष्ट देखिएका छैनन् । उनका अनुसार जार पूर्ण रूपमा सिलबन्दी अवस्थामा नै खोलिएको हुँदा कम्पनीले जिम्मेवारीबाट पन्छिन खोजेको जस्तो देखिएको छ ।
घटनाले बुटवलमा बिक्री–वितरण हुँदै आएको जार पानीको गुणस्तर, अनुगमन र नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । उपभोक्ताहरूले खाद्य तथा औषधि प्रशासन कार्यालय तथा सम्बन्धित नियमन निकायलाई तत्काल स्थलगत छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन् ।
स्वच्छ पानीजस्तो आधारभूत आवश्यकतामै यस्ता घटना दोहोरिनु उपभोक्ता सुरक्षाका दृष्टिले गम्भीर खतरा भएको भन्दै सचेत नागरिकहरूले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।