© २०२३
सुनवल, २ पुस ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।
आज बिहान पालहीनन्दन गाउँपालिका वडा नम्बर ६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो । नौवटा कार्टुनमा लुकाएर राखिएको भेप एक हजार ८०० पिस रहेको सशस्त्र प्रहरी बल नम्बर २६ हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक गोविन्द केसीले जानकारी दिए ।
भेप भारततर्फ तस्करी गर्नको लागि सीमा क्षेत्र नजिक लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको भेप महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
हिजो मात्रै सशस्त्र प्रहरीले नेपाल भारत सीमा क्षेत्र दश गजाबाट २० लाख बढीको अवैध कफी बरामद गरी भन्सार बुझाएको थियो ।
सीमा क्षेत्रबाट तस्करी बढेपछि प्रहरीले सक्रियता बढाएको छ । तर सिमानाका बाट निरन्तर अवैध रूपमा आयात निर्यात भइरहेको स्थानीयको गुनासो छ । सीमा क्षेत्रका प्रहरी चौकीको मिलेमतोमा समान तस्करी बढी हुने गरेको पाइएको छ ।