© २०२३
काठमाडौँ ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ सय २५ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
नेपालका दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए भने चन्दन रामले २७ र अभिषेक तिवारीले २० रन जोडे । अफगानिस्तानका जैतुल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले समान २–२ विकेट हात पारे ।
नेपाल र अफगानिस्तान दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाल समूह चरणको पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले र दोस्रो खेलमा बङ्गलादेशसँग ७ विकेटले पराजित भएको थियो ।
आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनल खेल आउँदो सोमबार पुस ६ गते हुनेछ ।