© २०२३
बुटवल, २ पुष ।
बुटवल इलाका प्रहरी कार्यालयबाट जेनजी आन्दोलनमा सहभागी भएका ९ जना युवाहरू रिहा भएका छन् । रिहाइपछि आयोजित छोटो स्वागत तथा भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक आदित्य आचार्यले अब परिवर्तनको बाटोमा अघि बढिसकेपछि पछाडि फर्कन नहुने उल्लेख गर्दै इच्छुक सबैलाई जिल्ला समितिमा स्वतः सदस्यका रूपमा सहभागी हुन आह्वान गरेका छन । उनले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको तयारी गरिने जानकारीसमेत गराए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश संयोजक खेमराज साउदले अबको चरण सुतेर बस्ने होइन, देश निर्माणमा सक्रिय भएर लाग्ने समय भएको बताउँदै जेल बसेको समयलाई खेर जान नदिन आग्रह गरे । उनले समाज सुधार आफ्नै समुदायबाट सुरु हुनुपर्ने धारणा व्यक्त गरे ।
द काउन्सिल अफ जेनजी रुपन्देहीका सचिव सुरज पोखरेलले जेलबाट रिहा भएका युवाहरूलाई खुला वातावरणमा खादा ओढाई सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा द काउन्सिल अफ जेनजी रुपन्देहीका सह–संयोजक विवेक पाण्डे, द काउन्सिल अफ जेनजी बुटवलका संयोजक मोहम्मद असलम खान, सदस्यहरू विकास के।सी।, योगराज पाण्डे क्षेत्री, भीमसेन श्रेष्ठ तथा द काउन्सिल अफ जेनजी तिलोत्तमाका सह–संयोजक निश्चल थापा सहित जेनजी युवाहरुको उपस्थिति रहेको थियो ।