© २०२३
काठमान्डौ, २ पुष ।
यूएईमा जारी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध कमजोर प्रदर्शन गरिरहेको छ ।
यूएईको ‘दि सेभेन्स स्टेडियम’मा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १६ ओभरको समाप्तिसम्म ३ विकेट गुमाउँदै ४० रन मात्र जोड्न सकेको छ ।
पावर प्ले अवधिमै तीन विकेट गुमाएको नेपालले त्यस अवधिमा २९ रन बनाएको थियो । नेपाली ब्याट्सम्यानहरू अफगान बलिङ आक्रमणअगाडि टिक्न सकेका छैनन् ।
नेपालका ओपनर साहिल पटेल १ रनमा अब्दुल अजिजको बलमा बोल्ड आउट भए । अर्का ओपनर निरज यादव २० बल खेलेर १ चौकासहित ८ रन बनाउँदा क्याच आउट भए । विकेटकिपर ब्याट्सम्यान आशिष लोहार ४ रन बनाउँदै एलबीडब्लु आउट भए ।
हाल क्रीजमा दिलसाद अली १५ रन र कप्तान अशोक धामी ४ रन बनाएर अविजित रहेका छन् ।
यस प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटको हार व्यहोरेको थियो । लगातार दुई हारसँगै समूह चरणबाट बाहिरिसकेको नेपाली युवा टोली अन्तिम खेलमा सान्त्वना जितको खोजीमा रहेको छ ।