© २०२३
नवलपरासी, ०२ पुस ।
जिल्लाको सरावल गाउँपालिका वार्ड नं.७ का वार्ड अध्यक्ष हेयात खाँ धुनियाले वार्डभित्रका कक्षा १२ पास गरि विवाह गर्ने युवतीलाई रु.११ हजार विवाह खर्च उपलब्ध गराउने बताएका छन् ।
गरिब विपन्न लक्षित वर्गका युवतीहरूलाई शिक्षामा प्रोत्साहित गर्न र विवाहको बेला केही राहत पुग्ने उद्देश्यले यस्तो कार्यक्रम बनाएको जानकारी गराए । कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी समेत गरेका थिए । यो नौलो रचनात्मक कार्य हो, उनले भने, यसले शिक्षा प्रति प्रोत्साहन र लक्षित बर्गलाई राहत दुवै कार्य गर्ने गरेको छ ।
गाउँपालिकामा दोस्रो पटक पनि जितेर वार्ड अध्यक्ष भएका धुनिया विगत वर्षमा पनि विभिन्न रचनात्मक कार्य गर्दै जनहितका कार्य गरेको बताएका थिए । वडामा नियमित हुने विकास निर्माणका कार्यहरू गराउँदै सामाजिक क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको सुनाएका थिए ।
आफ्नै कार्यकालमा वार्ड कार्यालयको नयाँ भवन, स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गराउनुका साथै गाउँ टोलसम्म आरसिसी गरि हिलो धुलो मुक्त वार्ड बनाएको दाबी गरेका थिए ।
भौतिक पूर्वाधार विकासको रूपमा वडा भित्रका ९० प्रतिशत कार्य सम्पन्न गरेको उनको भनाई थियो । त्यसै गरि वडा भित्रै रहेका जनता मावि विद्यालय लगायत विभिन्न चार वटा सामुदायिक विद्यालयहरू, मुस्लिमका मदरसा तथा हिन्दु पाठशालाको रूपमा रहेको पशुपति शिक्षा मन्दिरमा नियमित लगानी गर्दै शैक्षिक क्षेत्रमा पनि उदाहरणीय कार्य गरेको बताएका थिए ।
बौद्ध धर्मावलम्बीका लागि बौद्ध विहार क्षेत्र निर्माणमा पनि लगानी गर्दै आएको उनले सुनाए । भारतीय नाका भुजहवा समेत सोही वार्डमा परेको हुँदा भुजहवा बजारलाई व्यवस्थित गरिनुका साथै सो क्षेत्रलाई आर्थिक क्षेत्रको रूपमा हाटबजार समेतलाई प्रवर्द्धन गर्ने कार्यमा लागेको बताएका थिए ।
विगतमा सो नाकामा रहेको भुजहवा छोटी भन्सार विस्थापित भएको हुँदा सो छोटी भन्सारलाई पुनर्स्थापन गरि सञ्चालनमा सरकारले ल्याइदिँदा भुजहवा बजारको विकासमा थप टेवा मिल्ने उनको दाबी थियो ।
पर्यटन क्षेत्रका लागि पनि सो वडामा रहेका वर्दघाटे मन्दिर क्षेत्रको विकास पूर्वाधारमा निरन्तर काम भई रहेको र कृषकका सिचाइलाई सौर्य प्रणाली, भूमिगत सिचाइका लागि बोरिगँ सिचाई, कुलो सिचाई, नहर सिँचाइ प्रणाली सबै आयामको विकास गर्दै अहिले सबै क्षेत्रमा सिँचाइको प्रबन्ध मिलाएको उनले जानकारी गराएका थिए ।
सो वडाको प्रमुख चुनौती बाढीको बेला डुबान रहेको हुँदा वडा स्तरबाट ती कार्य गर्न सम्भावना नहुने हुँदा गाउँपालिका, प्रदेश र सङ्घ सरकारका साथसाथै गण्डक क्षेत्र भएकोले भारतीय पक्ष समेतलाई यो वार्डको डुबान रोक्नका लागि सबैले सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।
धनेवा खोला, खजुरा खोला, झरही खोलासँगै लिटिल गण्डकको पानी जम्मा हुने तर भारतीयले बनाएको लक्ष्मीपुर बाँधले जल निकास नहुँदा डुबानको कारण बनेको उनले तर्क राखेका थिए ।
यसका लागि प्रेस, नागरिक समाज र जिल्ला स्थित सरकारी निकायले पहल गर्नु पर्ने उनले आवश्यकता औँल्याएका थिए ।