© २०२३
काठमान्डौ, २ पुष ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको छ ।
युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहित दुई वर्षअघि दायर गरेको रिट निवेदनको आज सुनुवाइ तय भएको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको विषय कानुनविपरीत रहेको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । यसअघि प्रहरी तथा सरकारी वकिल कार्यालयले पनि सोही प्रकरणमा मुद्दा नचलाउने निर्णय गरिसकेका थिए ।
रिट निवेदनमा पौडेलले आफू अमेरिकी नागरिक हुँदाहुँदै पनि नेपाली नागरिक हुँ भनी विवरण पेस गरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य तथा कसुर भएको स्पष्ट रहेको जिकिर गरेका छन् । यस्तो अवस्थामा समेत महान्यायाधिवक्ताले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको उनको दाबी छ ।
त्यस्तै, राहदानी प्राप्त गर्ने क्रममा लामिछानेको आपराधिक मनसाय नरहेको भन्दै महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले रिटमा उल्लेख गरेका छन् ।