© २०२३
काठमान्डौ, २ पुष ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमका अनुसार मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
बुधबार बिहान काठमाडौँको भृकुटीमण्डपस्थित मतदान स्थलमा आयोजित प्रेस ब्रिफिङमा गौतमले राति साढे १० बजेसम्म नतिजा सार्वजनिक भइसक्ने जानकारी दिए ।
उनका अनुसार कुल मतदाता संख्या र प्रयोगमा रहेका ई–भोटिङ मेसिनको क्षमतालाई आधार मानेर मतदानको समय निर्धारण गरिएको हो । ‘एक जना मतदातालाई औसतमा करिब २० मिनेट समय लाग्ने र एकपटकमा ८० जनाले मतदान गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘यस आधारमा प्रारम्भिक रूपमा आठदेखि साढे आठ घण्टाभित्र मतदान सक्ने तयारीअनुसार अघि बढेका छौँ । निर्वाचन आयोगबाट प्राप्त सूचनाका आधारमा नै प्रक्रिया सञ्चालन भइरहेको छ ।’
एमालेले यसपटक नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ प्रणाली प्रयोग गरेको छ । मतदान सम्पन्न भएपछि मतगणना र प्रमाणीकरण प्रक्रिया छिटो हुने भएकाले नतिजा सोही राति सार्वजनिक गरिने पार्टीले जनाएको छ ।