© २०२३
लमही , २ पुस ।
दाङको देउखुरीस्थित राप्ती नदी क्षेत्रमा सोमबारदेखि जलपक्षीको गणना सुरु गरिएको छ। गणनाका लागि ६ गणक परिचालन गरिएको जनाइएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरु भए पनि देउखुरी क्षेत्रमा गणना थालिएको हो।
वर्ल्ड लाइफ इन्टरनेशनलको सहयोगमा नेपाल पंक्षी संरक्षण संघद्वारा सञ्चालित परियोजनाअन्तर्गत जाडो मौसममा आउने रैथाने तथा आप्रवासी चराहरूको संख्या, प्रजाति र अवस्थाबारे जानकारी लिन गणना गरिएको परियोजना अधिकृत भुपाल नेपालीले बताए।
भालुवाङदेखि पश्चिम बाँके राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको राप्ती नदी आसपास चार समूह बनाएर चरा गणना गरिनेछ। यस क्षेत्रमा साइबेरिया, चीन, रुस, कोरिया लगायतका देशबाट तथा नेपालकै विभिन्न स्थानबाट चराहरू बसाइँसराई गरी आउने गरेका छन्।
गत वर्ष देउखुरी क्षेत्रमा ३ सय १९ प्रजातिका चरा भेटिएका थिए भने हालसम्म ३ सय ४४ प्रजातिका चरा अभिलेखमा छन्। गणनामा हाँस, जलेवा, चखेवा लगायतका जलपक्षी देखिएका छन्। चरा गणना आगामी तीन महिनासम्म सञ्चालन हुनेछ।