© २०२३
सरकारले निर्वाचनको विश्वसनीय वातावरण वनेको दाबी गर्दै फागुन २१ गते हुने निर्वाचनमा भाग लिन सबै राजनैतिक दलहरूसँग आग्रह गरेको छ ।
सरकार निर्वाचनको तयारीमा लागिरहँदा राजनीतिक दलहरू भने अझै विश्वसनीय वातावरण बन्न नसकेको भन्दै आशङ्का गर्दै आएका छन् । सरकार र निर्वाचन आयोगले आफ्नो तर्फबाट आवश्यक तयारी सुरु गरिसकेका छन् । राजनैतिक दलहरूसँग संवादको ढोका समेत सरकारले खुला गर्दै विभिन्न समयमा छलफल गर्दै आएको छ ।
एक हिसाबले सरकारको बाहिरी आवरण निर्वाचन गराउनेतर्फ अग्रसरता देखिन्छ । निर्वाचन आयोगलाई समेत सरकारले विश्वासमा लिएको अवस्था छ । तर, राजनैतिक दलहरूमा अझै कहिँकतै संशयको अवस्था देखापरेको छ । यो अवस्थामा सरकारले विश्वासको वातावरण वनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।
सरकारले सोमबार मात्रै राजनीतिक सम्बाद समिति गठन गरेको छ । यो समितिको काम कर्तब्य र अधिकारको कुरामाथि पनि प्रश्न उठेको छ । निर्वाचनको तयारी हुँदै गर्दा यस प्रकारको राजनीतिक सम्बाद समितिको औचित्य के हो ? सरकारले जवाफ दिनु जरुरी छ ।
सरकार निर्वाचनको तयारीमा लागिसकेको हो र फागुन २१ मै निर्वाचन गराउने हो भने आवश्यक संयन्त्रमाथि अव ध्यान दिनु जरुरी छ । त्यसो त सरकारमाथि अहिले चौतर्फी दवाव छ । निर्वाचन गराउन नसक्ने हो भने सरकारमाथि प्रश्न खडा हुने अवस्था छ ।
एकथरी जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग समेत गरिसकेको अवस्था छ । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेलको अवस्था यही बेला आउन सक्छ । तसर्थ सरकार संयम, जिम्मेवार र होसियार भएर निर्वाचनतर्फको यात्रामा अघि बढोस् ।
मुलुकको तत्कालीन राजनीतिक निकासको निर्वाचनबाहेक अरू माध्यम केही देखिदैन । तसर्थ सरकार निर्वाचनमै केन्द्रित हुनु जरुरी छ । आम नेपाली जनता समेत पछिल्लो बिग्रदो राजनीतिक परिवेशमा आ– आफ्ना प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गर्न आतुर छन् ।
अतः सबै राजनैतिक दलहरूलाई सहमति र विश्वासमा लिएर निर्वाचनको विश्वसनीयता सिर्जनामा सरकारको ध्यान जाओस् । नेपाली कांग्रैस र नेकपा एमाले लगायतका केही दल अझै पनि संसद् पुनर्स्थापनाको आशामा छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ला नगर्ला त्यो भोलिको दिनमा आउने फैसलाबाट स्पष्ट हुनेछ तर देशमा निर्वाचनको वातावरण बनाउने कुरामा कञ्जुस्याई गर्नु हुँदैन ।
मधेशका राजनैतिक दलहरूले पनि निर्वाच बाहेकको विकल्प देखिरहेका छैनन । उनीहरू पनि निर्वाचनलाई नै आधार बनाएर अहिले मधेश केन्द्रित राजनीतिक गतिविधि गरिरहेका छन् । मधेशमा आन्दोलन गरिरहेका दलहरूले उत्तिबेलै निर्वाचनको स्वागत गरेका हुन ।
तसर्थ हिमाल, पहाड, तराई मधेश सवैतिर निर्वाचनको माहोल बनिरहेको अवस्था भएकोले सबै निर्वाचनमा जानुपर्नेमा अर्को विकल्प सोचेर मुलुकलाई अर्को भडखालोमा धकेल्ने काम किमार्थ गर्नुहुँदैन । तसर्थ नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरूले ताजा जनादेशमा जानु नै उत्तम हुनेछ ।
मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको सन्दर्भमा संसद् पुनर्स्थापनाको आशामा अझै रुमल्लिईरहनु औचित्यपूर्ण सावित हुनेछैन । नेकपा अहिले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको बाटोमा रहेकोले महाधिवेशनले सर्वसम्मतरूपमा निर्वाचनमा जाने संकल्प गरोस ।
निर्वाचन आयोग समेत निर्वाचनको तयारीमा होमिईसकेकोले निर्वाचन बाहेक मुलुकको लागि अर्को निकास छैन । यो गंभीर सरोकारको सवालमा सरकार अझै संवेदनशील हुनु जरुरी छ । अव सबै राजनैतिक दलहरूलाई विश्वासमा लिएर निर्धारित मितिभन्दा अघिपछि नगरिकन शान्तिपूर्व निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान जाओस । मधेशमा पनि विस्तारै निर्वाचनको वातावरण वन्दैछ ।
मधेशका नेता कार्यकर्ताहरू आफ्नो लयमा निर्वाचन केन्द्रित गतिविधि गर्न थालेका छनु । अब निर्वाचनको मितिमा दायाँ बायाँ नगरिकन सबै राजनैतिक दल, सरकार, निर्वाचन आयोग निर्वाचनका लागि तयार होउन । सबै राजनैतिक दलहरूलाई निर्वाचनमा संगै लिएर जाने वातावरण निर्माणका लागि सरकार अझै उदार, संवेदनशील र परिपक्व हुनु जरुरी छ ।