© २०२३
काठमान्डौ, २ पुष ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी आन्दोलनले पछिल्लो समय आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले वर्तमान सरकारको प्रमुख जिम्मेवारी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए । तर पछिल्लो समय जेनजीले निर्वाचन हुनै नदिने अभिव्यक्ति दिइरहेको देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा रहेको सरकारको मुख्य कार्य फागुन २१ गतेको चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो,’ उनले भने, ‘तर पछिल्लो कालखण्डमा आएर जेनजीले आफ्नो स्वर परिवर्तन गरेको देखिन्छ । अहिले “चुनाव हुन दिँदैनौँ” भन्ने कुरा आइरहेको छ, जुन स्वीकार्य छैन । चुनाव त हुनैपर्छ ।’
मेयर महर्जनले लोकतान्त्रिक अभ्यासको आधार निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचन सफल बनाउने काममा जेनजीसहित सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।