© २०२३
काठमाडौं, २ पुस ।
एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे ।
यो ऋण सहायताको ग्रेस अवधि ८ वर्षसहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत रहने र त्यसपछि १.५ प्रतिशत हुने बताइएको छ ।
कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारी स्रोत व्यवस्थापन सुधार गर्ने उद्देश्य यस कार्यक्रमको रहेको बताए ।
एडीबीका नेपाल निर्देशक कुश्वा र अर्थ सचिव उपाध्यायले सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनमा सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउन यस कार्यक्रमको योगदान रहने अपेक्षा गरिएको छ ।
यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई सबलीकरण गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउन सहयोग पुग्ने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।