Butwal Today

एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

१ पुष २०८२, मंगलवार
अ+
अ-

 काठमाडौँ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज पुस १ गते मतदान हुँदै छ। निर्वाचन तालिकाअनुसार आज (मंगलबार) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ।

जसअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेका छन्।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ।

एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिभएका छन्। यस्तै तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ।

यसैबीच मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन्।

उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए।