Butwal Today

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन

१ पुष २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १ पुष ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका कार्यान्वयनका लागि तोकेको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिएको छ । समितिले दिएको समयसीमा गतराति १२ बजे सकिए पनि नवीकरणको प्रक्रिया अझै पूरा हुन सकेको छैन ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार म्याद समाप्त भए पनि विभिन्न जिल्लामा देखिएका विवादका कारण काम अधुरो छ । “गयरातिबाट नवीकरणका लागि तोकिएको म्याद सकिएको हो, तर नवीकरणको काम अझै टुंगिएको छैन,” चौधरीले भने, “अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक बस्दैछ ।”

समितिका अनुसार अधिकांश जिल्लामा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विवाद अझै समाधान हुन सकेका छैनन् । यसका साथै नयाँ क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारमसम्बन्धी विवादले पनि समस्या थपिएको छ । मंसिर मसान्तसम्म नयाँ सदस्यता वितरणका लागि फारम पठाउने समयसीमा तोकिए पनि पठाइएका फारममध्ये ठूलो संख्यामा सिरियल नम्बर नराखिएको पाइएको छ, जसले थप अन्योल सिर्जना गरेको छ । उक्त विषय पनि आजको बैठकमा छलफल हुने चौधरीले जानकारी दिए ।

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि करिब ६ लाख फारम विभिन्न जिल्लामा पठाएको थियो । तीमध्ये करिब ४ लाख फारममा सिरियल नम्बर नराखिएको पाइएको छ ।

महामन्त्री थापाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू सिता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन् । समितिभित्र फारममा सिरियल नम्बर नराखिएको विषयमा मतभेद देखिएको छ । पार्टीभित्रको संस्थापन पक्षले सिरियल नम्बर नभएका फारम फिर्ता बोलाएर केन्द्रमै सिरियल नम्बर राखी पुनः पठाउनुपर्ने धारणा राखेको छ ।

तर संयोजक थापा र सदस्य स्नेही रसाइलीले भने जुन समितिमा फारम पुगेका छन्, त्यही समितिलाई सिरियल नम्बर राखी वितरण गर्न निर्देशन दिनुपर्ने मत राख्दै आएका छन् । समितिका सदस्य चौधरी र गुरुङ संस्थापन पक्षका नेताका रूपमा चिनिन्छन् ।

संस्थापन पक्षीय नेताहरूले केन्द्रबाट पठाइएका फारम संख्या जति भए पनि पार्टीभित्र तल्लो तहदेखि माथिल्लो तहसम्म गुटगत संरचना रहेकाले वडा, पालिका हुँदै क्षेत्रसम्म पुग्दा फारमको संख्या फेरबदल हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

यद्यपि संयोजक थापा भने फारम पुगेको सम्बन्धित समितिलाई नै सिरियल नम्बर राख्ने जिम्मेवारी दिनु व्यावहारिक र समयसापेक्ष हुने बताइरहेका छन् । उनको भनाइलाई सदस्य स्नेही रसाइलीले समर्थन गर्दै आएका छन् ।