© 2026
चन्द्रौटा, ०१ पुस ।
कृषिका लागि अत्यावश्यक मानिने युरिया मल कपिलवस्तुमा भने उद्योगका लागि अवैध रूपमा प्रयोग हुँदै आएको खुलासा भएको छ ।
भारतबाट तस्करी गरी ल्याइएको मल प्रहरीले नियन्त्रणमा लिएपछि प्लाइउड उद्योगहरूमा व्यापक रूपमा अवैध मल प्रयोग हुँदै आएको तथ्य बाहिरिएको हो ।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीबाट १ सय ८० बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको हो । स्थानीय तस्कर समूहसँग मिलेर मल भित्र्याइएको अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
ट्रकमा लोड गरिएको उत्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले बताए । “भारतबाट अवैध रूपमा ल्याइएको युरिया मल ट्रकमा लोड गरिएको अवस्थामा फ्याक्ट्री परिसरमै फेला परेको हो ।”
डीएसपी चौधरीले भने– “बरामद मल र प्रयोग गरिएको ट्रक कृष्ण नगर भन्सार कार्यालयलाई बुझाइसकेका छौँ, थप अनुसन्धान जारी छ ।” उनका अनुसार बरामद गरिएको मल रहेको उद्योग स्थानीय व्यापारी मनोज कनौडियाको स्वामित्वमा रहेको छ ।
बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्ण नगर भन्सार कार्यालयलाई बुझाइएको छ । स्थानीय स्तरमा किसानहरूले मल नपाएको गुनासो गरिरहेका बेला प्लाइउड उद्योगमा भने युरिया मल गोदामको रूपमा प्रयोग हुँदै आएको पाइएको छ ।
पलाइ टाँस्न प्रयोग गर्दा लागत कम पर्ने भएकाले उद्योगहरूले युरिया मल रोज्ने गरेको बताइन्छ । कृषकले लाइन बस्दा पनि मल पाउँदैनन्, तर उद्योगहरूमा भने ट्रक–ट्रक मल पुगिरहेको एक स्थानीयले बताए ।
सशस्त्र प्रहरी र भन्सार स्रोतका अनुसार कपिलवस्तु जिल्लामा सञ्चालित करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गरिरहेको आशङ्का छ ।
सीमावर्ती नाका प्रयोग गरी रातको समयमा मल भित्र्याउने र उद्योग परिसरमा भण्डारण गर्ने गरिएको अनुसन्धानले देखाएको छ ।यस घटनाले मल तस्करीमा उद्योगी, तस्कर र सीमावर्ती संयन्त्रबिच साँठगाँठ रहेको हुन सक्ने सङ्केत गरेको छ ।
यदि अनुसन्धानले यो पुष्टि गरेमा जिल्लामा ठुलो परिमाणमा भइरहेको मल तस्करीको जालो खुल्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दा र कृषक समूहहरूले यस्ता अवैध गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न र सीमामा निगरानी बढाउन माग गरेका छन् ।
“कृषक मारमा पर्ने र उद्योग फाइदा लिने अवस्था अन्त्य हुनुपर्छः कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप चौधरीले बताए । सशस्त्र प्रहरीका अनुसार अनुसन्धानको दायरालाई थप विस्तार गर्दै अन्य उद्योगहरूमा समेत छानबिन गरिनेछ ।
मल तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती र निगरानी कडा बनाइने समेत जनाएको छ ।