© २०२३
बुटवल, १ पुस ।
उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी बुटवलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
सरकारले उपेक्षित रोगलाई प्रथामिकतामा राख्न नसक्दा बेला बेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखापर्ने गरेको छ । जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको कालाजार, औलोलगायत रोगहरू बेला–बेला जनस्वास्थ्यका समस्याका रूपमा देखिने गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको साझेदारीमा संञ्चालित प्रेरणा परियोजना अन्तरगतको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
अन्तरक्रियामा वोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराइन् । उनले समयमै रोग पहिचान, उपचार पहुँच विस्तार र जनचेतनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, हाल भइरहेका कार्यक्रम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराए ।
उनले यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको वताए । उनले संघीय सरकारले बिनियोजन गरेको बजेटमात्र कार्यक्रम भैरहेको बताउदै प्रदेश र स्थानिय सरकारले पनि त्यसलाई ध्यान दिनु पर्ने बताए ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेयले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे स्वागत मन्तव्य राख्दै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबीच सहकार्य आवश्यक रहेको वताए ।
त्यसैगरी परियोजनाका टेक्निकल अधिकृत अपार शर्माले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेले स्वास्थ्य कार्यालय तथा विभिन्न परियोजनाहरूले आफूहरूले गरेका गतिविधि र उपलब्धिहरूबारे सञ्चारकर्मीहरूलाई समय–समयमा जानकारी गराउनुपर्ने बताइन् ।
उनले सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सफल बनाउन सञ्चारकर्मीहरू सहकार्यका लागि सधैं तयार रहेको स्पष्ट पारिन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा तथ्यपरक समाचार सम्प्रेषण, जनचेतनामूलक सामग्री प्रकाशन तथा समुदायसम्म सन्देश पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन विषयविज्ञ तुल्सीराम खनालले पनि विभिन्न विषयमा प्रकाश पारेका थिए ।
यो कस्तो रोग हो ?
उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोग भनेर बुझिन्छ । उपेक्षित रोग गर्मी देशमा देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित रोगको सूचीमा सूचीकृत गरेको छ ।
यी रोगहरूले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर पर्ने तथ्याङ्कमा उल्लेख छ । सरुवारोग विशेषज्ञका अनुसार यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले लाग्ने गर्छन् ।
सरसफाइको कमी र रोगबाहेक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरहरु र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्रायःजसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा रहने चिकित्सक बताउछन् ।
नेपालमा पाइने ११ वटा उपेक्षित रोगमा डेंगु र चिकेनगुनिया, रेबिज, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्तेजुका र न्युरोस्टाइसर्कोसिस, कालाजार, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अन्य डीप माइक्रोसेस पर्छन् ।
उपेक्षित रोगको अवस्था
कालाजार
पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्यामा ९० प्रतिशतले कमी आएको छ । सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल निवारणको लक्ष्यतर्फ उन्मुख छ ।
कुष्ठरोग
सन् २०१० मा राष्ट्रिय स्तरबाट जनसङ्ख्या समस्याको रूपमा निवारणको घोषण गरिसकेको छ । आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रिभ्यालेन्स दर प्रति दस हजार जनसङ्ख्या ०.९२ रहेको र दुई हजार ४७२ नयाँ कुष्ठरोगका बिरामी पहिचान भएका थिए ।
हात्तीपाइले
६४ वटा हात्तीपाइलेको आम औषधी सेवन गरी ५३ वटा जिल्लामा सङ्क्रमणदरको अध्ययन गरी आम औषधी सेवन कार्यक्रम बन्द गरिसकिएको छ । ५८ जिल्लाबाट हात्तीपाइलेका बिरामी भए नभएको तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेको कारणबाट ४७ हजार ८८६ जनामा शारीरिक समस्या भएको तथ्याङ्कमा उल्लेख छ ।
डेंगु
सन् २००४ मा डेंगुको पहिलो केस पुष्टि भएको देखिएयता प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो छ । सन् २०२४ मा ७६ वटा जिल्लाबाट डेंगु प्रतिवेदन भएको र देशभर ४१ हजार ८६५ व्यक्तिमा सङ्क्रमण भई १५ जनाको मृत्यु भएको थियो । सरकारले डेंगु रोकथाम तथा नियन्त्रणको लक्ष्य लिएको छ ।
रेबिज
नेपालले कुकुरको टोइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पु¥याउने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा जनावरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या दुई लाख १८ हजार ४८२ प्रतिवेदन भएको छ । नेपालले कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पु¥याउने लक्ष्य राखेको छ ।
सर्पदंश
आर्थिक वर्ष २०८१÷८२ मा आठ हजार १८१ सर्पदंशका केसहरू पुष्टि भएका थिए । जसमध्ये एक हजार ४८८ व्यक्तिलाई विषालु सर्पले डसेको थियो । देशभर ११० वटा केन्द्रमार्फत सर्पदंशको उपचार हुने गरेको छ । सर्पदंशलाई नियन्त्रण गर्ने सरकारले लक्ष्य लिएको छ ।
माटोबाट सर्ने जुका
सरकारले माटोबाट सर्ने जुका नियन्त्रण गर्ने निर्णय लिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा पाँच लाख ४३ हजारभन्दा बढीमा जुकाको सङ्क्रमण देखिएको छ ।
ट्रकोमा
सरकारले ट्रकोमालाई जनस्वास्थ्य समस्याको रूपबाट निवारण गरिसकेको छ ।