© २०२३
बुटवल, १ पुस ।
पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा हुने १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।
प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघले मंगलबार पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार प्रदर्शंनीको आठ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपियाँ बराबरको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने नाराका साथ प्रदर्शनी हुन लागेको हो ।
अध्यक्ष पराजुलीले प्रदर्शनीमा स्वदेशी उद्योग र तिनको उत्पादन मात्रै राखिने बताए । उनका अनुसार बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् ।
अध्यक्ष पराजुलीले स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए ।
यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
उनले प्रदर्शनीबाट स्वदेशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण, नेपाली उद्योगको लागि अवसरको खोजी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संघले प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी र कन्फेक्सनरी, छाला उद्योग, खाद्यान्न, सूचना प्रविधि लगायतका क्षेत्र समेटिएका करिब ३५० स्टल रहने जनाएको छ ।