Butwal Today

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित

१ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले केही समय अघि मात्रै सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्य ३ जना निर्वाचित हुने भएकाले ३ जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मधेशी कलस्टरतर्फ २ जना युवा निर्वाचित हुने भए पनि एक जनाको उम्मेदवारी नपरेका कारण रिक्त भएको छ । यस्तै केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकीको एकल एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी छन् भने केन्द्रीय सदस्य समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् ।

पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा।डा।भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् भने लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेलको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।