© २०२३
काठमान्डौ, २९ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।
मुख्यमन्त्री यादवले सातदलीय गठबन्धनभित्रको प्रतिनिधित्वलाई ध्यानमा राख्दै मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने योजना बनाएका छन् ।
आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित मन्त्रीहरू नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार, आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत पनि लिने निर्णय भएको छ ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए । प्रारम्भमा तीन दलबाट तीनजना मन्त्री नियुक्त गरिएको थियो ।
जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए । कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा मिलाउन नसकिँदा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय रहेका छन् ।
मुख्यमन्त्री यादवले आज दुवै बिना विभागीय मन्त्रीसहित अन्य दलबाट पनि प्रतिनिधित्व सुनिश्चित गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।