© २०२३
लमही, २९ मङ्सिर ।
पश्चिम तराईको महत्त्वपूर्ण नाका दाङको कोइलाबासमा हुलाकी सडक निर्माण भएर कालोपत्रे सडकसम्म पुगे पनि क्षेत्रले अपेक्षित परिवर्तन महसुस गर्न सकेको छैन ।
वर्षौँदेखि सडक अभावले पछि परेको कोइलाबासका बासिन्दाले हुलाकी सडक बनेपछि व्यापार, आवागमन र समग्र विकासले गति लिने आशा गरेका थिए । तर सडक निर्माण भएको लामो समयसम्म भारतीय पक्षबाट सीमा नबस्दा ती सबै आशा अहिले अपुरै जस्तै देखिएका छन् ।
यहाँ बर्षौ पहिले बजार खंडहर बनेका संरचना अहिले पनि देख्न सकिन्छ । हुलाकी सडक बनेसँगै दाङ हुँदै कोइलाबाससम्म पुग्न सहज भएको छ । पहिले पैदल वा कच्ची बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
एम्बुलेन्स, मालबाहक सवारी र यात्रु सवारी साधन सहजै पुग्न थालेका छन् । तर सडकको मुख्य उद्देश्य भने सीमापार व्यापार र आवतजावतलाई सहज बनाउनु हो, जुन अहिले पनि सम्भव हुन सकेको छैन ।
गढवा गाउँपालिकाका अध्यक्ष यमराज पोख्रेल धेरै पटक भारतीय पक्षसँग कुरा राखे पनि सुनुवाइ नभएको बताए । उनले यो राज्य सरकारले पहल गरिनु पर्ने हो तर ध्यानाकर्षण भएको छै दुखेसो पोखे ।
स्थानीय व्यापारीहरूका अनुसार सीमा नखुल्दा बजार चलायमान हुन नसकेको हो । सडक बनेपछि नयाँ पसल, होटल र व्यापारिक नंया संरचना बन्ने अपेक्षा थियो । तर ग्राहक नआउँदा पुरानै व्यवसाय पनि धरासायी बन्न थालेको व्यापारी शिव हमालले बताए ।
“सडकले आशा त जगायो, तर सीमा नखुल्दा व्यापार उस्तै छ,” एक स्थानीय व्यापारी भन्छन्, “भारतीय बजारसँग जोडिन नपाएसम्म कोइलाबास उठ्न सक्दैन ।”
कोइलाबास नाका नेपाल–भारत सीमा व्यापारका लागि पहिलेदेखि नै महत्त्वपूर्ण मानिँदै आएको हो । दुवै देशका नागरिकको आवतजावत, साना व्यापार र दैनिक उपभोग्य वस्तुको किनबेच यही नाकामार्फत हुँदै आएको थियो ।
तर विभिन्न कारणले भारतीय पक्षबाट सीमा व्यवस्थापन नहुँदा अहिले आवतजावत ठप्पजस्तै छ । स्थानीय बासिन्दा मात्र होइन, किसान पनि समस्यामा परेका छन् । सडक बनेपछि कृषि उत्पादन बजारसम्म लैजान सजिलो हुने अपेक्षा थियो ।
तर सीमा नखुल्दा भारतीय बजारमा उत्पादन पु¥याउन नसक्दा किसानले उचित मूल्य पाउन सकेका छैनन् । यसले कृषिमा लगानी बढ्ने वातावरण पनि बन्न सकेको छैन ।
नागरिक समाह दाङका संयोजक स्थानीय अगुवा निम बहादुर थापा भन्छन्, हुलाकी सडक सरकारको ठुलो लगानीको आयोजना हो । तर सीमा सञ्चालनबिना यसको प्रभाव आधा मात्र भएको छ । उनीहरूले नेपाल र भारत सरकार बिच कूटनीतिक पहल गरी कोइलाबास नाकालाई नियमित सञ्चालनमा ल्याउन माग गरेका छन् ।
कोइलाबासका बासिन्दाको बुझाइमा सडक विकासको पहिलो खुड्किलो मात्र हो । वास्तविक विकास तब मात्र सम्भव हुन्छ, जब सीमा खुलेर व्यापार, रोजगारी र जनआवतजावत सामान्य हुन्छ।
सीमा खुलेपछि होटल, पसल, यातायात, कृषि र पर्यटन सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ । हुलाकी सडकले कोइलाबासलाई राप्तीकै मूलधारसँग जोडेको छ ।
अब छ, सीमापार सम्बन्धलाई पनि सक्रिय बनाउन जरुरी छ थापाले भने । सीमा खुलेर सडकले पूर्ण अर्थमा काम गर्न थालेपछि मात्र कोइलाबास साँच्चिकै बहुराउने स्थानीयको अपेक्षा अझै जीवित छ ।
एक समयको देशकै ठुलो दोस्रो नाका कोइलाबस सडक निर्माणले चोरी, डकैती बढाउन मात्र सहज बनेको देखिन्छ ।