© २०२३
काठमान्डौ, २९ मंसिर ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ७ विकेटले पराजित भयो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बङ्गलादेशका जावाद अबरारले अविजित ७० रनको उत्कृष्ट इनिङ्स खेले । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर १ बलमै सबै विकेट गुमाउँदै १ सय ३० रनमै समेटिएको थियो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८ र निरकुमारले १४ रन जोडे । अन्य खेलाडीहरू भने दोहोरो अङ्कमा रन जोड्न असफल भए। बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो। अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।