© २०२३
काठमान्डौ, २९ मंसिर ।
एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । पुस महिनाका लागि बैंकहरूले ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
आज सार्वजनिक गरिएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । अघिल्लो मंसिर महिनामा उक्त दर ५.०४०५ प्रतिशतविन्दु रहेको थियो। यसअनुसार औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो ।
पुस महिनाका लागि १३ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान रूपमा ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।
यस्तै प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतविन्दुले तथा कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् ।
यसबीच ७ वटा वाणिज्य बैंक—सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र हिमालयन बैंकले भने मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । सबैभन्दा कम ब्याजदर भने प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ ।
यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ । पुस महिनाका लागि ५ वटा वाणिज्य बैंकहरूले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।