© 2026
बाँके, २९ मंसिर ।
बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा प्रत्यक्ष नागरिकको घरआँगनसम्म पु¥याइँदा जनचेतना बढ्नुका साथै प्रारम्भिक चरणमै रोग पहिचान हुन थालेको छ ।
गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले विगतमा समयमै स्वास्थ्य जानकारी र सेवा नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको अनुभवलाई ध्यानमा राख्दै कार्यक्रम सुरु गरिएको बताए । “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई अन्त्य गर्दै रोग लाग्न नदिन र सुरुको अवस्थामै पहिचान गर्न यो अभियान अघि बढाइएको हो,” अध्यक्ष शाहले भने ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वटा वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती र सुत्केरी महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा दिँदै आएका छन् ।
जनस्वास्थ्य अधिकृत करम चौधरीका अनुसार कार्यक्रमलाई दीर्घकालीन र अर्थपूर्ण बनाउने लक्ष्यसहित वडावडामा स्वास्थ्यकर्मी परिचालन गरी तथ्याङ्क सङ्कलन र जनचेतना विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ । यसले स्थानीय तहमा स्वास्थ्य योजना निर्माण गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।
यसैबीच, कटकुइया स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यले नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले सामाजिक–सांस्कृतिक कारणले केही चुनौती भए पनि अभियानलाई निरन्तरता दिन सके उल्लेख्य सफलता हासिल हुने विश्वास व्यक्त गरे ।
कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै भारतीय सीमासँग जोडिएको कारण चेतनाको स्तर अन्य वडाभन्दा कम रहेको उनले बताए । “धेरै महिलाले गर्भधारणपछि आवश्यक सावधानी नअपनाउने र समयमै स्वास्थ्य जाँच नगर्ने प्रवृत्ति देखिन्छ, जसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्छ,” उनले भने ।
२४ घण्टा स्वास्थ्य चौकीमै बसेर निरन्तर सेवा दिँदै आएकी गुरुङ स्थानीयवासीबीच प्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित छन् । “पहिला महिलाहरू स्वास्थ्य चौकी आउन डराउँथे, अहिले विश्वास बढ्दै गएको छ । घरदैलो अभियानले गर्भवती र सुत्केरी महिलालाई ठूलो फाइदा पुगेको छ,” उनले भनिन् । चेतना बढ्दै जाँदा अहिले आफैं फोन गरेर जाँचका लागि बोलाउने अवस्था आएको उनको भनाइ छ ।
वडा नं. १ का वडा अध्यक्ष इसाक जोलाहले घरदैलो कार्यक्रमले दुर्गम र पछाडि पारिएका समुदायसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताए । “हाम्रो वडा सामाजिक र भौगोलिक रूपमा चुनौतीपूर्ण छ । स्वास्थ्यकर्मी आफैं घरमा पुगेपछि सेवाप्रतिको विश्वास बढेको छ र स्वास्थ्य परीक्षणतर्फको पहुँच सहज बनेको छ,” उनले भने ।
स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन्। गाउँपालिकाले यस अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधारका रूपमा विकास गर्ने तयारी गरेको छ ।