Butwal Today

उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २९ मंसिर ।

नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म बन्द गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले मङ्सिर २९, पुस १ र २ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी उपाध्यायको स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा उनका गृह जिल्ला मोरङमा शोक सभा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । आजको बैठक उपसभापति धनराज गुरुङको सभापतित्वमा भएको थियो ।

पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । कार्यसमितिले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेको छ ।

उपाध्याय २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । उनी २०५६ मङ्सिर २३ मा सम्पन्न उपनिर्वाचनबाट मोरङ निर्वाचन–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यही वर्ष उनी शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए। २०६२–६३ को ऐतिहासिक जनआन्दोलनपछि पुनर्स्थापित व्यवस्थापिका संसद्का सदस्य पनि बनेका थिए ।

२०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन–१ बाट निर्वाचित उपाध्याय २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कामसमेत गरेका थिए ।