© 2026
रूपन्देहीको विकासका रोल मोडल हुन् विष्णु पौडेल । जसका कारण रूपन्देहीले विकासको रूप मात्र फेरेको छैन फड्को नै मारेको छ । उनकै कारण फेरिएका हुन् सडकदेखि विमानस्थलसम्म । सिमानाकादेखि सिद्धबाबा क्षेत्रसम्म । यही कारण, विष्णु पौडेल विगत तीन दशकदेखि रूपन्देहीका लागि सर्वाधिक परिचित र लोकप्रिय नाम बनेको छ ।
रूपन्देहीको विकासमा बिष्णु पौडेल रोलमोडल सावित भैसकेका छन् । रूपन्देहीका सानादेखि ठूला अर्बौंका आयोजनामा बिष्णु पौडेलको नेतृत्वदायी भूमिकाले महत्त्वपूर्ण योगदान दिएको छ । विकासका पर्याय मानिन्छन–विष्णु पौडेल । विगत तीन दशकयता रूपन्देहीको विकासका पछि उनको नाम नजोडिएको कुनै आयोजना छैनन् । हरेक आयोजनाको पछि विष्णु पौडेलको उपस्थिति जोडिएको छ । बिष्णु पौडेललाई रूपन्देहीबाट अलग गरिदियो भने रूपन्देही वास्तवमै विकासमा अपांग बन्छ ।
पौडेल रूपन्देहीका लागि निर्विवाद विकासे नेता हुन् । रूपन्देहीलाई विकासको यो सम्मृद्धिको अवस्थामा ल्याउन पौडेलको अथक परिश्रम र योगदानलाई कम आँक्न सकिदैन । तर उनै नेता अब रूपन्देहीबाट अलग हुने दिन आउँदैछ भन्ने सुन्दा कस्तो लाग्छ ? निश्चितरूपमा यो समाचार आम जिल्लाबासीका लागि अप्रत्यासित हुनेछ । तर, समय, परिस्थिति र अवस्थाले त्यो दिन नजिक आउन लागेको हो कि भन्ने कौतुहलता बढेको छ । यो कौतुहलतामात्रै होइन, यथार्थ हुनसक्छ । राष्ट्रिय राजनीतिदेखि जिल्लासम्म विगत तीन दशक एकछत्र प्रभुत्व जमाउन सक्नु पौडेलको सांगठनिक क्षमता हो भन्दा अत्युक्ति हुँदैन ।
रूपन्देहीको विकासका पर्याय बनेका सांगठनिक कुशलताका धनी पौडेल रूपन्देहीबाट पाल्पातर्फ उकालो चढदैछन् । यो हल्लामात्रै होइन, यथार्थ हुनसक्छ । तसर्थ रूपन्देहीवासी अव संयम र गंभीर बन्ने बेला आएको छ । उनलाई गुमाउने कि भोलिको दिनमा अझै माया दिएर रूपन्देहीको विकासका लागि सर्वकालीक नेताको रूपमा उनलाई स्थापित गरिरहने ? अवको जिम्मा र दायित्व रूपन्देहीबासीको छ । रूपन्देहीले संकल्प गर्ने दिन नजिक आएको छ । रूपन्देहीले विष्णु पौडेललाई गुमाउँदै गर्दा जसरी आमा विनाको शिशु टुहुरो बन्छ, त्यसैगरी रूपन्देहीको त्यही नियती हुने त होइन ? चासो र चिन्ता बढिरहेको छ ।
उनलाई रोक्ने कुरा नेकपा एमालेको मात्रै होइन, विकासप्रति चासो र चिन्ता राख्ने सवै दलको उत्तिकै गहन र उत्तरदायी भूमिका हो भन्ने कुरा विर्सनु हुँदैन । यसर्थ भन्नैपर्दछ– रूपन्देहीको समकालीन राजनीतिमा बिष्णु पौडेल कुनै समय निर्विवाद प्रभावशाली नेता मानिन्थे र मानिन्छन पनि । विकास योजना, बजेट पहुँच र केन्द्रीय निर्णय तहमा रहेको प्रभावका कारण उनी ‘रूपन्देहीको बलियो आवाज’ का रूपमा स्थापित थिए । स्थानीयदेखि केन्द्रीय तहसम्म उनको पहुँच, संगठनमाथिको पकड र नीति निर्माणमा देखिएको सक्रियताले उनलाई एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा पनि एक ‘डिसिजन मेकर’ का रूपमा चिनायो ।
तर राजनीति स्थिर हुँदैन । समय, सन्दर्भ र जनमतसँगै नेताको हैसियत पनि बदलिँदै जान्छ । पछिल्लो समय बिष्णु पौडेल आफ्नो परम्परागत निर्वाचन क्षेत्र रूपन्देही छोड्न सक्ने चर्चाले राजनीतिक वृत्तमा गम्भीर प्रश्न जन्माएको छ—यो परिवर्तन दीर्घकालीन रणनीति हो कि बदलिँदो परिस्थितिले थोपरिएको बाध्यता ? यो प्रश्न केवल एक नेताको व्यक्तिगत भविष्यसँग जोडिएको छैन । यो रूपन्देहीको राजनीतिक चेतना, एमालेभित्रको शक्ति सन्तुलन, लुम्बिनी प्रदेशको संरचनागत राजनीति र स्थानीय मतदाताको मनोविज्ञानसँग प्रत्यक्ष गाँसिएको विषय हो ।
बिष्णु पौडेलको राजनीतिक यात्रामा विकास मुख्य आधार रह्यो। उनले आफूलाई ‘डेभलपमेन्ट–ओरिएन्टेड लिडर’ का रूपमा प्रस्तुत गरे । धेरै हदसम्म त्यसलाई प्रमाणित पनि गरे । बुटवल–नारायणघाट सडक, सिद्धार्थ राजमार्गको स्तरोन्नति, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापना, औद्योगिक प्रदर्शनी स्थलको पुनर्निर्माण, बेलबास–बेथरी सडक, तिनाउ नदिमा ठाउँठाउँमा पुल निर्माण, तिलोत्तमामा मेडिकल कलेज, सिद्धबाबा सुरुङ मार्ग, तिनाउमा सिग्नेचर पुल, बुटवल–लमही सडक स्तरोन्नति, बुटवल गोरुसिङ्गे सडक, जितगढी किल्लालाई पर्यटकिय रूपमा विकास गर्ने तथा कालीगण्डकी डाइभर्सन, झुम्सा बुटवल खानेपानी, मोतिपुर अद्यौगिक क्षेत्रजस्ता आयोजना—यी सबै उनका विकासका एजेन्डामा पर्छन् । यी आयोजना कागजमा मात्र सीमित छैनन् । भौतिक रूपमा पनि संरचनाहरू देखिने गरेका छन् । यस अर्थमा पौडेललाई ‘काम गर्ने नेता’ भन्ने आधार छ ।
विष्णु पौडेलले सरकारी तथा सार्वजनिक क्षेत्रको विकासमा मात्र होइन निजी लगानी प्रवद्र्धन, औद्योगिक गतिविधि विस्तार र बुटवललाई पश्चिम नेपालको आर्थिक केन्द्र बनाउने दीर्घकालीन सोचमा पनि उल्लेख्य भूमिका खेले । तर, राजनीति केवल उपलब्धिको सूची होइन, अनुभूतिको खेल पनि हो । विकासको लाभ सबै वर्ग, क्षेत्र र समुदायले समानरूपमा अनुभूत गरे कि गरेनन् ?
अहिले निर्णायक प्रश्न बनेको छ । ठूला आयोजना आए । ती आयोजना सकिए कि सकिएनन् ? सकिएका आयोजना कार्यान्वयनमा गए कि गएनन् ? स्थानीय रोजगारी, साना व्यवसाय, ग्रामीण क्षेत्र र सामाजिक समावेशीतामा त्यसको प्रभाव कति प¥यो ? यही प्रश्नले विकास र जनसमर्थनबीच दूरी सिर्जना ग¥यो ।
राजनीतिक विश्लेषकहरू भन्छन् विष्णु पौडेलले गरेको विकास ‘देखियो’, तर विकासले ‘छोएन’ भन्ने भावना बढ्दै गयो । पहुँच सीमित हुँदै गयो । निर्णय प्रक्रिया केही व्यक्तिमा केन्द्रित भयो र कार्यकर्ता–नेताबीचको प्रत्यक्ष संवाद कमजोर बन्यो । यही दूरीले विष्णु पौडेललाई विकासको श्रेयचुनावी माहोलमा ढाल्न र स्थानीयबाट समर्थनमा रूपान्तरण गर्न कठिन बनाएको देखिन्छ ।
विष्णु पौडेलका लागि लुम्बिनी प्रदेशको राजधानी दाङ (भालुवाङ) तोकिएको निर्णय रूपन्देहीका लागि ऐतिहासिक मोड बन्यो । भौगोलिक, आर्थिक, पूर्वाधार र पहुँचका आधारमा बुटवल स्वाभाविक दाबेदार मानिएको थियो । त्यसैले राजधानी बुटवल नबन्नु केवल प्रशासनिक निर्णय मात्र भएन, त्यो रूपन्देहीका लागि राजनीतिक र भावनात्मक पराजय बन्यो ।
भालुवाङ राजधानी सार्ने निर्णय सामूहिक थियो तर जनआक्रोश व्यक्तिगत अनुहारतर्फ केन्द्रित भयो । त्यो अनुहारमा पौडेल बने । केन्द्रीय राजनीतिमा प्रभावशाली भएर पनि निर्णायक प्रतिरोध नगरेको वा कम्तीमा स्पष्ट र कठोर पक्ष नलिएको धारणा रूपन्देहीमा गहिरो रूपमा बस्यो । त्यही बेला पौडेल अर्थमन्त्री बनेकाले पनि पदसँग राजधानी साटिएको भन्ने तर्क गर्नेलाई मलजल मिल्यो ।
राजनीतिमा तथ्यभन्दा भावना शक्तिशाली हुन्छ । राजधानीको निर्णयमा बिष्णु पौडेल एक्ला निर्णायक थिएनन् भन्ने तथ्य भएपनि ‘हाम्रा नेता भएर पनि बचाउन सकेनन्’ भन्ने भावना बलियो बन्यो । यही तथ्य र भावना बीचको अन्तरले पौडेलको राजनीतिक विश्वसनीयतामा दीर्घकालीन प्रश्न खडा ग¥यो । आज पनि राजधानीको मुद्दा रूपन्देहीमा ‘मौन असन्तोष’ का रूपमा जीवित छ ।
त्यो असन्तोष सडकमा देखिँदैन, नारामा सुनिँदैन, तर मतपेटिकामा प्रकट हुन सक्छ । यही कारण आगामी चुनावी गणितमा यो मुद्दा निर्णायक बन्ने सम्भावना उच्च छ । नेकपा एमालेभित्र नेतृत्व तहमा शक्ति पुनर्संरचनाको प्रक्रिया तीव्र छ । अध्यक्ष केपी शर्मा ओलीपछि पार्टी सञ्चालन र सांगठनिक निर्णयमा महासचिव शंकर पोखरेलको प्रभाव बढ्दै गएको छ । संगठन निर्माण, प्रदेश तहको समन्वय, नियुक्ति र टिकट वितरणमा महासचिवको भूमिका निर्णायक बन्दै गएको देखिन्छ ।
पछिल्लो समय लुम्बिनी प्रदेशमा शंकर पोखरेलको पकड स्वाभाविक रूपमा बलियो देखिन्छ । दाङ केन्द्रित संगठन, प्रदेश सरकार सञ्चालनको अनुभव र केन्द्रीय नेतृत्वसँगको निकटताले उनलाई प्रभावशाली बनाएको छ । यस सन्दर्भमा बिष्णु पौडेलको प्रभाव क्रमशः चुनौतीमा परेको विश्लेषण गरिन्छ । रूपन्देहीमा समेत पार्टी संगठन र निर्णय प्रक्रियामा महासचिव पक्ष हावी हुँदै जानु, पौडेलका लागि आगामी निर्वाचन सहज नदेखिनुको संकेत हो ।
टिकट वितरणमा आफ्नो प्रभाव कमजोर हुने, संगठन परिचालन अपेक्षाअनुसार नहुने र आन्तरिक समर्थन विभाजित हुने सम्भावनाले उनलाई वैकल्पिक निर्वाचन क्षेत्रबारे सोच्न बाध्य बनाएको हुन सक्छ । यस अर्थमा निर्वाचन क्षेत्र परिवर्तनको चर्चा केवल हल्ला नभएर सम्भावित रणनीतिक तयारीका रूपमा बुझ्न सकिन्छ । राजनीतिमा सुरक्षित अवतरण खोज्नु अस्वाभाविक होइन तर त्यसले नेता र क्षेत्रबीचको सम्बन्धमा गम्भीर प्रश्न खडा गर्छ ।राजनीतिक नेतृत्व केवल पद, प्रभाव वा बजेटले टिक्दैन ।
स्थानीय आधार, कार्यकर्ता सञ्जाल र प्रत्यक्ष संवाद नै दीर्घकालीन राजनीतिक पूँजी हो । पछिल्लो समय बिष्णु पौडेल नजिक मानिएका धेरै स्थानीय नेता तथा कार्यकर्ता निष्क्रिय वा टाढिएको देखिन्छ । यसका कारण बहुआयामिक छन्—केन्द्रीय राजनीतिमा अत्यधिक व्यस्तता, सीमित व्यक्तिमार्फत निर्णय, कार्यकर्ताको गुनासो नसुनिनु र स्थानीय नेतृत्वलाई पर्याप्त स्पेस नदिनु । यसले ‘पौडेल क्याम्प’ भनेर चिनिने समूहलाई कमजोर बनाएको विश्लेषण छ।यो कमजोरी आगामी निर्वाचनमा प्रत्यक्ष असर पार्न सक्छ भन्ने आँकलन स्वयं पौडेलले पनि गरिरहेको संकेत निर्वाचन क्षेत्र परिवर्तनको चर्चाबाट देखिन्छ ।
जब नेता आफ्नै आधार क्षेत्रमा अनिश्चित देखिन्छन्, तब विकल्प खोज्नु राजनीतिक यथार्थ बन्न पुग्छ । बिष्णु पौडेल रूपन्देही छोडेर पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्न सक्ने चर्चा राजनीतिक बजारमा व्यापक छ । पाल्पा भौगोलिक रूपमा नजिक भए पनि राजनीतिक रूपमा फरक चरित्रको जिल्ला हो । त्यहाँ पौडेलको व्यक्तिगत प्रभाव, संगठनात्मक पकड र जनपरिचय रूपन्देहीजस्तो गहिरो छैन । यो चर्चा यथार्थमा बदलियो भने यसलाई दुई तरिकाले हेर्न सकिन्छ—एक, दीर्घकालीन राजनीतिक रणनीति; दुई, रूपन्देहीमा कमजोर बन्दै गएको आधारबाट सुरक्षित विकल्पतर्फको पलायन। कुन व्याख्या सही ठहर्छ भन्ने कुरा समयले बताउनेछ । रूपन्देही क्षेत्र नं. २ का मतदातामाथि पनि प्रश्न छ— विष्णु पौडेल गए भने, यहाँ त्यस्तै प्रभावशाली, केन्द्रीय पहुँच भएको नेता को आउला ? कि रूपन्देहीले केन्द्रीय राजनीतिमा आफ्नो ‘बलियो आवाज’ नै गुमाउला ?
बिष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तनको बहस व्यक्तिगत निर्णयभन्दा ठूलो राजनीतिक संकेत हो । यो रूपन्देहीको बदलिँदो जनमत, एमालेभित्रको शक्ति पुनर्संरचना, लुम्बिनी प्रदेशको आन्तरिक राजनीति र मतदाताको मनोविज्ञान सबैसँग गाँसिएको विषय हो । यदि पौडेल रूपन्देहीमै पुनः राजनीतिक आधार सुदृढ गर्न चाहन्छन् भने, अब विकासका उपलब्धि मात्र पर्याप्त हुने छैनन्।
विश्वास पुनर्निर्माण, भावनात्मक संवाद, स्थानीय नेतृत्व सशक्तीकरण र संगठनात्मक पुनर्जागरण अपरिहार्य छ । अन्यथा निर्वाचन क्षेत्र परिवर्तन उनको राजनीतिक रणनीति मात्र नभएर, बदलिँदो राजनीतिक यथार्थको स्वीकारका रूपमा इतिहासमा दर्ज हुन सक्छ । प्रश्न केवल बिष्णु पौडेलको हैन—प्रश्न रूपन्देहीको पनि हो । के रूपन्देही क्षेत्र नं. २ का मतदाताले उनलाई रोक्न चाहन्छन् ?
कि नयाँ राजनीतिक अध्याय लेख्न तयार छन् ? आगामी दिनमा पौडेललाई विदाई गर्दैगर्दा पछुताउने अवस्था पो आउने हो कि ? अव यो बिषयमा गंभीर बहसको खाँचो छ । विकास कुनै एउटा राजनैतिक दलको कुरामात्रै होइन, सवै रूपन्देहीबासीको जीवन र सम्मृद्धिसंग जोडिएको बिषय हो । रूपन्देहीमा सुरुवात भएका तर पूरा नभएका अर्बौंका आयोजनाको काम बाँकी छ । तिनलाई सम्पन्न गर्ने दिशामा पनि ठूलो पहुँच भएको नेतृत्वको आवश्यकता पर्दछ । त्यसका लागि विष्णु पौडेल एउटा निर्विवाद पात्र हुन् भन्दा सायद फरक पर्दैन ।
रूपन्देहीको विकास अझै पूरा भएको छैन । अझै धेरै काम गर्न बाँकी छ । त्यसका लागि रूपन्देहीले अझै केही समय उनको नेतृत्व स्वीकार्ने कि ? आजैबाट बहस गरौं । रूपन्देही २ का मतदाताले विष्णु पौडेल अपरिहार्य कि विकल्प ? यस गंभीर बिषयमा सोंच्ने बेला आएको छ । ताकि, अहिलेको ढिलाईले पछि पछुताउनु नपरोस् ।