© २०२३
काठमान्डौ, २८ मंसिर ।
नेकपा एमालेले आन्तरिक विरोधका बीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै संरचनामा कायम गरेको छ । यसअघि विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको संरचना पुनः विस्तार गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका थिए । सोही प्रस्तावअनुसार अब पार्टीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी कुल १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।
यसैगरी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ । यी संरचनासहित केन्द्रीय कमिटीको कुल संख्या ३०१ सदस्यीय बनाइएको छ ।
एमालेको केन्द्रीय कमिटी यसअघि पनि ३०१ सदस्यीय नै थियो । तर गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट त्यसलाई घटाएर २५१ सदस्यीय बनाइएको थियो । त्यति ठूलो मेहनत र खर्च गरेर विधान महाधिवेशनमार्फत टुंगो लगाइएको विषयलाई पुनः संशोधन गर्न खोजिएको भन्दै पार्टीभित्र असन्तुष्टि र विरोधसमेत देखिएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्यात्मक विस्तारको माग नगरेको स्पष्ट पारे । उनले संख्या बढाउँदैमा पार्टीको क्षमता बढ्ने कुनै ग्यारेन्टी नभएको भन्दै प्रश्न उठाए ।
‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन, बदलिन भनेको हो,’ पोखरेलले भने, ‘के संख्या बढाएर क्षमता बढ्छ रु अस्तिका दिनमा हाम्रो क्षमता जाँचिएन ?’
उनले दुई कार्यकालको विषयमा समेत प्रश्न उठाउँदै त्यसबारे छलफल नगरी अन्य विषयमा मात्रै निर्णय लिन खोज्नु पार्टीलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए । ‘दुई कार्यकालबारे कुरा उठ्दा छलफल नहुने, अरू विषयमा मात्रै हुने—यस्तो तर्कले हामीलाई कहाँ पुर्याउँछ ?’ उनले भने ।