© २०२३
काठमान्डौ, २८ मंसिर ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले यस्तो बताएका हुन् ।
विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरी संरचनाहरू नै मुख्य निशाना बनेको उल्लेख गर्दै उनले भने, ‘मूलतः यसपालिको आन्दोलनमा पनि नेपाल प्रहरीका थुप्रै संरचनाहरू ध्वस्त पारिएका छन् । यसअघि भएका विभिन्न राजनीतिक तथा अन्य प्रकृतिका आन्दोलनहरूमा समेत नेपालको इतिहासमा धेरैपटक प्रहरी नै तारो बनाइएको छ ।’
उनले थपे, ‘प्रहरीलाई चाहिँदाको भाँडो र नचाहिँदाको ठाँडो बनाउने प्रवृत्ति पनि देखिन्छ ।’
आईजीपी कार्कीले यस्ता प्रवृत्ति रोक्न र शान्ति सुव्यवस्था मजबुत बनाउन नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेकोमा जोड दिए । त्यसका लागि नागरिकसँग सामिप्यतापूर्ण सम्बन्ध कायम गर्दै काम गर्न सम्पूर्ण दर्जाका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।
‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताबाट मात्र देशभर शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ । यो शाश्वत सत्य भएकाले नागरिक–प्रहरीबीचको विश्वास र सहकार्यलाई निरन्तर मजबुत बनाउँदै अघि बढ्न म सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिन्छु,’ उनले भने ।