© २०२३
काठमान्डौ, २८ मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र हुने स्थल भृकुटीमण्डपमै आइतबार जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन् ।
अध्यक्ष ओलीले उक्त प्रस्ताव प्रत्यक्ष रूपमा आफूले नल्याई निकटस्थ नेतामार्फत माहोल निर्माण गरिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । सिधै प्रस्ताव अघि सार्दा पार्टीभित्र विरोध हुन सक्ने आँकलनसहित ओलीले आफू निकटका केन्द्रीय सदस्यहरूलाई विधान संशोधनमार्फत पदाधिकारी तथा केन्द्रीय समितिको आकार विस्तार गर्ने धारणा बैठकमा राख्न लगाएको ती नेताको भनाइ छ ।
आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्ने कि हाल कार्यान्वयनमा रहेको विधानअनुसार नै महाधिवेशन प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा ओली निकटका नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
सोही क्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटा, शेरबहादुर तामाङलगायतका नेताहरूले ९ जना सचिव र ५ जना उपाध्यक्ष रहने गरी पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव बैठकमा राखेका छन् । उक्त प्रस्ताव हाल केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ ।
उल्लेखनीय रूपमा, अध्यक्ष ओलीले बैठकस्थल प्रवेश गर्ने क्रममा समेत पदाधिकारी थपिने संकेत दिएका थिए ।
केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम अझै जारी रहेकाले आजको बैठकले विधान संशोधन र पदाधिकारीको सङ्ख्याबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । यद्यपि, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको स्पष्ट विरोध गर्दै आएको छ ।