© २०२३
काठमाडौं, २८ मंसिर ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभा जिल्लाको मादी नगरपालिका निवासी प्रेम दोर्ची शेर्पा रहेका छन् । उनले आफ्नी श्रीमती मिना शेर्पा बेपत्ता भएको भन्दै यसअघि प्रहरीमा जाहेरी दिएका थिए ।
प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे १० बजे ओखरबोट बजारबाट घर फर्कने क्रममा आफ्नी श्रीमती मिना शेर्पा बाटोमै छुट्टिएर बेपत्ता भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
तर प्रहरी अनुसन्धानका क्रममा मिना शेर्पाको हत्या भएको खुल्न आएको छ । प्रहरीका अनुसार हत्या गर्ने व्यक्ति जाहेरी दिने उनै श्रीमान प्रेम दोर्ची नै रहेको पुष्टि भएको हो ।
संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार, त्यस राति बजारबाट घर फर्कने क्रममा विवाद भएपछि प्रेम दोर्चीले कुटपिट गरी श्रीमतीको हत्या गरेका थिए । हत्या गरेपछि शव त्रिपालले बेरेर खाल्डो खनी गाडेको उनले स्वीकार गरेका छन् ।
प्रहरीले गाडिएको अवस्थामा शव उत्खननसमेत गरेको छ । घटनापछि फरार रहेका प्रेम दोर्चीलाई १९ दिनपछि पक्राउ गरिएको हो । उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।