Butwal Today

राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

नेपालको पत्रकारीतामा रूपन्देही जिल्लालाई मोफसलको राजधानी भनिन्छ, मानिन्छ ।

मोफसलको अर्थ सङ्घिय राजधानी काठमाडौं बाहिरको क्षेत्र भन्ने हो । यस अर्थमा सङ्घीय राजधानी काठमाडौं भन्दा बाहिरको क्षेत्रमा सञ्चार जगत सबै भन्दा बढी र राम्रोसँग फस्टाएको क्षेत्र रूपन्देही जिल्ला हो भन्ने बुझिन्छ ।

यसलाई नाराको रूपमा प्रयोग गर्ने काम वि.सं. को ५० को दशकबाट बुटवलमा कार्यरत पत्रकारहरूले एवं नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाले गरेको हो । नाराको रूपमा प्रयोग गर्दा पत्रकारितामा मोफसलको राजधानी बुटवल भनेर गरिएको थियो ।

यसलाई अहिले बृहत् बनाएर रूपन्देही भनिएको हो । किनकी अहिले पत्रकारितामा बुटवल निकटका नगरहरू देवदह, तिलोत्तमा र सैनामैनामा पनि धेरै सङ्ख्यामा सञ्चार संस्थाहरू सञ्चालित छन् । भैरहवा त नेपालको पत्रकारितामा पहिले देखिकै विकसित र प्रसिद्ध ठाउँ हो ।

त्यसैले रूपन्देही जिल्लालाई मोफसलको राजधानी भनिएको हो । यो सरकारी मान्यता हैन । रूपन्देहीमा कार्यरत सञ्चार कर्मीहरूको सङ्गठन नेपाल पत्रकार महासङ्घ रूपन्देहीको दावी हो । यो मान्यता सही वा गलत के छ भनी सञ्चार मन्त्रालयबाट प्रमाणित गर्न बाँकी भएपनि यो दावीमा दम छ किनकी रूपन्देही नेपालको सञ्चार जगतमा छोटो समयमा धेरै विकास भएको ठाउँ हो, उन्नत ठाउँ हो ।

२०४६ सालको परिवर्तनपछि यहाँको सञ्चार जगत बढी फस्टाएको भएपनि पत्रकारितामा यो जिल्लाको इतिहास कम्तीमा ६४ वर्ष भन्दा लामो छ । त्यसैले यो जिल्लाको पत्रकारिताको इतिहास गौरवशाली छ । जिल्लाको सबैभन्दा पुरानो अर्थात पहिलो अखबार बुटवलबाट २०१८ सालमा प्रकाशित भएको लुम्बिनी साप्ताहिकलाई मान्दा यसको इतिहास ६४ वर्ष लामो पुगेको हो ।

रूपन्देही जिल्लाको पत्रकारिताको इतिहासका जानकार एवं अनुभवी अग्रज पत्रकार मदनलाल पौडेलका अनुसार २०१२ सालमा एउटा पर्चा खालको एक पाने सञ्चार सामग्री प्रकाशित भएको थियो, जो अखबारको रूप रङ्गमा नभई पर्चाको रूपरङ्गमा प्रकाशित भएको थियो । केही लेखक पत्रकारले त्यसैलाई रूपन्देहीको पहिलो अखबार मानेको पाइन्छ ।

पौडेलको प्रत्यक्ष अनुभवमा अखबारको रूपरङ्गमा प्रकाशित भएको रूपन्देहीको पहिलो अखबार लुम्बिनी साप्ताहिक हो । जो २०१८ सालमा प्रकाशित भएको थियो । यसको वर्ष १ अंक २ बुटवलका पूर्व उपमेयर विमल बहादुर शाक्यको निजी पुस्तकालयमा संरक्षीत छ । यसको सम्पादन मण्डलमा सुर्यलाल, मुन्नीलाल शाक्य, शोभाकान्त नेपाल रहेका छन् ।

प्रकाशकमा बुद्धराज उदय लगायत रहेका छन् । त्यसपछि बुटवल भैरहवा क्षेत्रमा अखबार प्रकाशनको क्रम विकास हुँदै अघि बढेको हो । बुटवल पहिले देखिकै पश्चिम नेपालको बाणिज्य केन्द्र हो । भैरहवा पनि पुरानो बाणिज्य केन्द्र हो । त्यस अर्थमा पनि बुटवल पश्चिम नेपालका विभिन्न पेशा व्यवसाय र विचार भएका मानिसहरूको बटुलीने अर्थात जमघट हुने ठाउँ हो, पहिले देखिकै । त्यसैले नयाँ नयाँ सिर्जना र प्रयोगहरू पश्चिम नेपालमा यही नगरबाट हुनु स्वभाविक हुन आउँछ ।

यहाँ सामाजिक र शैक्षिक जागरणको शुरुवात पनि सङ्घिय राजधानी काठमाडौं सँगसँगै भएको पाइन्छ । २००४ सालमा बटौली बजार (हालको पारी बुटवल) मा खुलेको महावीर पुस्तकालय पश्चिम नेपालको सम्भवतः दोस्रो पुरानो पुस्तकालय हो । नेपालका पुराना पुस्तकालय मध्ये एक हो । बटौली बजारस्थित बुटवल माध्यमिक विद्यालय २००८ सालमा खुलेको हो ।

एक समय साविक लुम्बिनी अञ्चलको सबैभन्दा बढी चलेको र संभ्रान्त वर्गको पहिलो रोजाइको यो विद्यालय सम्भवतः लुम्बिनी अञ्चलकै सबै भन्दा जेठो विद्यालय हो । यहाँ भन्न खोजिएको कुरा के हो भने बुटवल क्षेत्रमा सामाजिक र शैक्षिक जागरण काठमाडौं उपत्यका सँगसँगै भएको देखिन्छ । २००७ सालको जनक्रान्तिमा पनि बुटवल क्षेत्रको योगदान महत्वपूर्ण मानिन्छ ।

सूर्यलाल, मुन्नीलाल शाक्य, ओमशंकर श्रेष्ठ, कुसुम कुमारी लाकौल लगायका बुटवल क्षेत्रका त्यसबेलाका क्रान्तिकारी युवाहरूले २००७ सालको जनक्रान्तिमा बुटवल क्षेत्रको नेतृत्व गरेको इतिहास छ । २००७ सालको जनक्रान्तिमा बुटवल क्षेत्रमा अगुवाई गरेका क्रान्तिकारीहरू मध्येका एक सूर्यलालको अगुवाइमा २०१८ सालमा बुटवलमा अखबार प्रकाशनको प्रारम्भ भएको इतिहास छ ।

२००७ सालको क्रान्तिमा क्रान्तिकारीहरूले पर्चाको प्रयोग पनि गरे होलान । खासमा निजी क्षेत्रबाट २०१८ सालमा अखबार प्रकाशनको थालनी भएपछि रूपन्देही जिल्लामा पत्रकारिताको इतिहास प्रारम्भ हुन्छ । त्यसपछि लुम्बिनी सन्देश, दैनिक निर्णय, विचार आदि नामका अखबार प्रकाशन भएको पाइन्छ । यो भयो– रूपन्देहीमा स्थानिय सञ्चार माध्यमको विकास क्रमको कुरा । राष्ट्रिय मूलधारको मिडियामा रूपन्देही जिल्ला, बुटवल एवं साविक लुम्बिनी अञ्चल तथा हालको लुम्बिनी प्रदेश क्षेत्र कहिलेदेखि समेटियो त्यसको खोजिनिती गर्नु यस लेखको उद्देश्य भएकाले अब त्यसको संक्षिप्त चर्चा गरौं ।

राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी
पहिले राष्ट्रिय मूलधारका सञ्चार माध्यम राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र दैनिक, नेपाल टेलिभिजन र रेडियो नेपाल मात्र थिए । नेपालको सञ्चार तथा पत्रकारिताको इतिहासमा उक्त संस्थाहरूको गौरवशाली इतिहास छ ।

यि संस्थाहरूमध्ये सबैभन्दा पहिले राससले बुटवलमा साविक लुम्बिनी अञ्चललाई सेवा क्षेत्र बनाई कार्यालय स्थापना गरेको इतिहास भेटिन्छ । वि.सं. ३० को दशकबाट यसले बुटवलमा सेवा प्रारम्भ गरेको इतिहास पाइन्छ । नारायण कार्की ३० को दशकका प्रतिनिधी थिए । नेपाल टेलिभिजनले पहिलो पटक २०४५ सालमा भैरहवामा शम्भु पन्तलाई संवाददाता नियुक्त गरेको पाइन्छ ।

बुटवलमा २०५० सालदेखि हरिश ढकाललाई संवाददाता नियुक्त गरेको ढकालले बताए । गोरखापत्रले २०५० सालदेखि छविलाल पाण्डेलाई बुटवलमा रहेर साविक लुम्बिनी अञ्चल कभरेज गर्ने गरी संवाददाता नियुक्त गरेको पाण्डेले बताए ।

त्यसैगरी रेडियो नेपालले पनि २०४६ सालको परिवर्तनपछि बुटवलमा समाचारदाता नियुक्त गरी समाचार कभरेज गर्न थालेको इतिहास पाइन्छ । यसरी राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी क्षेत्रको कभरेजको शुरुवात वि.सं. ३० को दशकबाट भएको पाइन्छ ।

यसको प्रारम्भ राससले गरेको देखिन्छ । वि.सं. ३० को दशकमा काठमाडौंबाट प्रकाशित भई राष्ट्रिय सञ्जाल निर्माण गरेका त्यस समयका चर्चित साप्ताहिक अखबारहरू मातृभूमी, राष्ट्रपुकार समिक्षा साप्ताहिकले पनि रूपन्देहीमा समाचारदाता नियुक्त गरी लुम्बिनी क्षेत्रलाई सेवा क्षेत्र बनाएको पाइन्छ ।

मातृभूमी साप्ताहिकमा २०३२ सालदेखि नियुक्ती लिई सेवा थालेका एक समयका चर्चित पत्रकार मदनलाल पौडेलले सो अखबार सञ्चालन हुँदासम्म सेवा गरेका थिए । २०३६ सालपछि एक समय राष्ट्रिय स्तरमा चर्चित साप्ताहिक अखबार विमर्शले पनि भैरहवामा दिलिप भट्टराईलाई संवाददाता नियुक्त गरी लुम्बिनी अञ्चल क्षेत्रका समाचार कभरेज गरेको पाइन्छ ।

२०४६ सालको परिवर्तन पछि राष्ट्रिय मूलधारका मिडिया कहलिएका कान्तिपुर, नेपाल समाचार पत्र, हिमालय टाइम्स, अन्नपूर्ण पोष्ट, दि हिमालयन टाइम्स, एभिन्यूज टेलिभिजन लगायतका सञ्चार माध्यमहरूले पनि रूपन्देही जिल्ला एवं साविक लुम्बिनी अञ्चलका प्रायः जिल्लाहरूमा संवाददाता नियुक्त गरी सेवा प्रदान गरेका थिए, गरिरहेका छन् ।

कान्तिपुर दैनिकको बुटवलमा पहिलो संवाददाता बालकृष्ण चापागाई र हरि लम्साल हुन् । त्यसपछिको यो पङ्तिकार हो । त्यसपछि अरू धेरै बने । भैरहवामा पहिलो संवाददाता माधव ढुंगाना हुन् । अन्नपूर्ण पोष्टको बुटवलमा पहिलो संवाददाता यो पङ्तिकार हो भने भैरहवामा अरूण ज्ञवाली हुन् ।

अहिले पछिल्लो चरणमा अनलाइन सञ्चार माध्यमको तिब्र विकास भएपछि चर्चित अनलाइन सञ्चार माध्यमहरू अनलाइन खबर, सेतो पाटी, रातो पाटी लगायतका विभिन्न सञ्चार माध्यमहरूले पनि बुटवल–भैरहवा क्षेत्रमा संवाददाता नियुक्त गरी प्रभावकारी ढङ्गले समाचार कभरेज गराई रहेका छन् । २०७२ सालमा नयाँ संविधान जारी भई मुलुक सङ्घिय राज्य प्रणालीमा प्रवेश गरेपछि राष्ट्रिय मूलधारका मिडियाका पहिलेका लुम्बिनी अञ्चल कार्यालयहरू अहिले लुम्बिनी प्रादेशिक कार्यालयका रूपमा सञ्चालित भएका छन् ।

पहिलेको रूपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची ६ जिल्लाको कार्यक्षेत्र विस्तारित भई दाङ्ग, रोल्पा, रुकुम, प्यूठान, बाँके, बर्दिया गरी १२ जिल्लामा पुगेको छ । अहिले राष्ट्रिय मूलधारका प्रायः सबै सञ्चार माध्यमले उक्त प्रायः जिल्लामा समाचारदाता नियुक्त गरी समाचार कभरेज गराई रहेका छन् ।

संवाददाता नियुक्त गर्न नसकिएका जिल्लाकालागि प्रादेशिक कार्यालयबाट समाचार कभरेज गराई रहेका छन् । यसरी राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी क्षेत्रको कभरेज हुन थालेको करिब ५० वर्ष समय पुगेको छ । तर राष्ट्रिय मूलधारका मिडियाका प्राथमिकतामा यो क्षेत्रका बुटवल, भैरहवा, नेपालगञ्ज आदी शहर मात्र पर्ने गरेका छन् ।

अन्य जिल्ला र बजार ओझेलमा पर्ने गरेका छन् । रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी जस्ता जिल्लामा संवाददाताको नियुक्ति कम प्राथमिकतामा परेको अवस्था छ । ग्रामिण क्षेत्रका समाचारको कभरेज पनि सन्तोषजनक छैन ।

राष्ट्रिय मिडियामा लुम्बिनीको कभरेजको अवस्था:
राष्ट्रिय मूलधारका मिडियामा लुम्बिनी प्रदेश क्षेत्रको कभरेजको अवस्था सन्तोषजनक छैन । नेपालको अधिकांश राष्ट्रिय मिडिया सङ्घिय राजधानी काठमाडौं उपत्यकाको घेराभित्र केन्द्रित छन् । तिनका समाचार, रिपोर्टिङ्ग, विश्लेषण, लेख, बहस आदी राजधानी क्षेत्रका घटनामा केन्द्रित छन् । प्रादेशिक समाचारलाई कम प्राथमिकता दिने गरिएको छ ।

दिइएपनि सतही ढङ्गले प्रस्तुत गर्ने गरेको पाइन्छ । यद्यपी यो अवस्थामा विस्तारै सुधार हुँदै गईरहेको छ । लुम्बिनी प्रदेश क्षेत्रमा अबैध सिमा व्यापार, सुरक्षा चुनौती, राजमार्गको जिर्ण अवस्था, शिक्षामा असमानता, बेरोजगारी, युवा पलायन, धार्मिक तथा साँस्कृतिक पर्यटकीय सम्पदाको प्रबद्र्धनको कमी, राष्ट्रिय राजनीतिको समिकरणमा क्षेत्रीय उपेक्षा, स्थानीय जनजिविकाका मुद्दा, पूर्वाधार विकास आयोजनाको अनुगमन जस्ता गहिरा सवालहरू रहेका छन् ।

तर यि सवालहरू ओझेलमा परेका छन् । नीजि क्षेत्रका केही मिडियाले यि विषयबस्तुलाई उजागर गर्ने प्रयास गरेपनि पर्याप्त र प्रभावकारी छैन । लुम्बिनी शाक्यमुनि बुद्धको पवित्र जन्मभूमी हो । यो हाम्रो लागी अवसर हो । तर राष्ट्रिय मिडियाले स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने गरी समाचार सामग्रीको प्रकाशन प्रसारणमा कमी देखिन्छ । समाधानको लागी मूलधारका मिडियाको विकेन्द्रिकरण र प्रदेश सरकारको सक्रियता एवं स्थानीय तथा प्रादेशिक मिडियाको सवलीकरणलाई जोड दिनुपर्छ ।

निष्कर्ष:
राष्ट्रिय मूलधारका मिडियामा लुम्बिनी प्रदेश क्षेत्रको कभरेजको स्थिति सन्तोषजनक छैन । यस क्षेत्रको विकासका आधारहरू पहिल्याउन सञ्चार माध्यमले सन्तोषजनक भूमिका खेल्न सकेका छैनन् । घटना प्रधान समाचारको कभरेज सन्तोषजनक भएपनि खोज, अनुसन्धानमूलक एवं गहिरा विषयबस्तुबारे लेखिएका समाचार, फिचर र लेखहरू राष्ट्रिय मिडियाले राम्रोसंँग कभरेज गर्न नसकेको अवस्थामा अब सुधार गर्नु पर्छ ।

५० वर्ष लामो इतिहासमा सञ्चार माध्यमले यस क्षेत्रको शहरी क्षेत्रमा राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक क्षेत्रमा जागरण ल्याउन उल्लेख्य योगदान पु¥याएपनि ग्रामिण र पिछडिएको क्षेत्रका आवाजहरू उजागर गरी जागरण र सुधार ल्याउन मिडियाले अझै अपेक्षित ढङ्गले प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । यद्यपी यसमा विस्तारै सुधार हुँदै गई रहेको अवस्था छ ।

यो क्रम अगाडी बढ्नु पर्छ । यो प्रदेशको विकासको आधार पर्यटन, कृषि र उद्योग धन्दाको विकास हो । त्यसैले अब सञ्चार माध्यमले विकासकालागि सञ्चार अभियानलाई अँगाल्दै अघि बढ्नु पर्छ । राष्ट्रिय मूलधारका मिडियाको अहिलेको कार्यशैली र नीतिमा परिवर्तन हुनुपर्छ ।