© २०२३
काठमाडौं, २८ मंसिर ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट गरिएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आपत्ति व्यक्त गर्दै पाण्डेले सोधे, ‘के विधान अधिवेशनको औचित्य नै समाप्त पार्ने काम गरिएको हो ?’
उनले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशनअघि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने–यो सरासर मनपरी होइन भने के हो ?’
पाण्डेका अनुसार, पार्टीको यो निर्णय मनपरीतन्त्रप्रतिको लडाइँ जारी रहेको छ । उनले थपे, ‘अहिले आएर दायाँ बायाँ गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ ।’
एमालेको दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेको हो । गत भदौमा सम्पन्न विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहने गरी निर्णय भएको थियो ।
यद्यपि अन्तिम समयमा उक्त निर्णयमा संशोधन हुन लागेको एमालेले जनाएको छ ।