© २०२३
काठमाडौं, २८ मंसिर ।
नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन–जी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने विषयमा आवाज उठेको छ । पार्टीका प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।
गौतमका अनुसार ४० वर्ष मुनिका प्रतिनिधिहरूलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसका लागि छुट्टै क्लस्टर तयार पार्ने जिम्मेवारी पार्टी नेतृत्वलाई दिइएको उनले बताए ।
उनले भने, ‘अन्डर फोर्टी समूहबाट आएका प्रतिनिधिहरूका लागि क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।
विद्यमान क्लस्टरहरूमा पनि युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड रहेको छ । यस विषयमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा अन्डर फोर्टीको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’
उनका अनुसार यस विषयमा थप छलफल गरी अन्तिम निष्कर्षमा पुर्याइनेछ । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।
सो निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ ।
नयाँ संरचनाअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ ।
केन्द्रीय कमिटीले गरेको उक्त निर्णय महाधिवेशनको बन्दसत्रबाट अनुमोदन गराइनेछ ।