© २०२३
कपिलवस्तु, २८ मंसिर ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यता गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव देखिएको छ ।
गाउँपालिकाले समयमै खरिद प्रक्रिया अगाडी नबढाएका कारण पालिकाका स्वास्थ्य चौकीहरूमा निःशुल्क रूपमा वितरण गर्दै आएको क्याल्सियम र आइरन चक्की अभाव भएको हो ।
साउन यता पहिलो पटक ईबिडिगं मार्फत औषधी खरिदको प्रक्रिया अगाडी बढाएको पालिकामा मौज्दात नहुँदा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा औषधी अभाव भएको हो । पालिकाले ढिलो गरि औषधि खरिद प्रक्रिया अघि बढाएको कारण सृजित औषधि अभावका कारण गर्भपरिक्षण गराउन आउने ग्रामीण महिलाहरू औषधी क्याल्सियम र आइरन चक्की बिनै फर्किने गरेका छन् ।
पालिकाको वडा नम्बर ४ स्थित अमलोनहामा रहेको पर्शोहिया स्वास्थ्य चौकीमा पछिल्लो दुई साता यता पालिकाले समयमै आपूर्ति नगर्दा क्याल्सियम, आइरन चक्की र फोलिक एसिडको अभाव देखिएको हो ।
सो स्वास्थ्य चौकीमा अहिले ६३ जना गर्भवती महिलाले नियमित गर्भपरिक्षण गराउँदै आएका छन् । तर क्याल्सियम चक्की सकिएको १ महिना र आइरन चक्की सक्किएको दुई साता पुगेको छ ।
स्वास्थ्य चौकीमा गर्भ परीक्षणका लागी आएर आइरन, क्याल्सियम बिनै फर्किएका गर्भवती महिलाले औषधी नपाइएको भन्दै गुनासो गर्ने गरेको सोही वडाकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शुभावती मिश्रा बताउँछिन् ।
पछिल्लो एक महिना यता पालिकाबाट आपूर्ति नभएका कारण गर्भवती महिलालाई क्याल्सियम, आइरन चक्की र फोलिम एसिड दिन नसकिएको स्वास्थ्य चौकीकी अनमी भुवनेश्वरी सिंहले गुनासो गरिन ।
यशोधरा गाउँपालिकाको चालु आवको बजेटमा वक्तव्यमा पालिकाभर सहज औषधी आपूर्ति, गर्भवती चेकजाँचको प्रोत्साहनको लागि आयोडिन युक्त नुन तथा सुपा नेट झुल प्रदान गर्ने नीति लिएको देखिएको छ ।
त्यसै गरि पालिकाले दिर्घरोग रक्तचाप र मधुमेहको औषधी सहितको लागी १ करोड बजेट समेत विनियोजन गरेको छ । तर पालिकाका स्वास्थ्य चौकीहरूमा अहिले मधुमेह र रक्तचापको औषधी समेत छैन ।
गर्भवती महिलाका लागी निःशुल्क उपलब्ध गराउनु पर्ने क्याल्सियम, आइरन चक्की र फोलिक एसिडको अभावले पालिकाले चालु आवमा प्रस्तुत गरेको नीति कार्यक्रमको बुँदा नम्बर १६ मा उल्लेख गरेको “गर्भवती महिलाहरूको प्रोटोकल अनुसार स्वास्थ्य परीक्षण गरिने साथै कुपोषण दर हटाउनका लागि गर्भवती महिला र बालबालिकालाई विशेष व्यवस्था मिलाइने छ ।”
भन्ने बुँदाकै खिल्ली उडाएको देखिएको छ । त्यसै गरि सोही नीतिको २६ नम्बर बुँदामा उल्लेख गरिएको गर्भवती महिलाको ८ पटकको जाँचलाई १०० प्रतिशत गर्नका लागि प्रदान गरिँदै आएको प्रत्येक जाँचमा आयोनुन, आइरन र क्याल्सियम कार्यक्रमलाई निरन्तरता दिने भन्ने बिषय समेत अपुरो भएको छ ।
गर्भवती महिलाका लागी आवश्यक क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव र दिर्घरोगीलाई समेत औषधी बिना फिर्ता पठाउनु पर्दा आफूहरू मानसिक दबाबमा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।
सङ्घीय सरकारबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधिमध्ये केही प्रदेश, केही सङ्घ र केही स्थानीय तहले छुट्टाछुट्टै जिम्मेवारी लिएर व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर पालिकाले समयमा निर्णय नगर्दा गर्भवती महिलाहरू स्वास्थ्य जोखिममा परिरहेका देखिएको छ ।
स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गरिने आइरन चक्की र क्याल्सियम चक्कीको अनियमित भए गर्भवती महिलालाई रक्त अल्पता बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्छ । त्यसैगरी जन्मिने शिशुमा तौल कम हुने, हड्डी र दाँतको विकास कमजोर हुने समस्या आउँछ ।
जस्का कारण गर्भवती महिलाको औषधिप्रति विश्वास घट्ने, नियमित गर्भ जाँचमा आउने दर घट्नुका साथै मातृ तथा नवजात मृत्युदर बढ्ने सम्भावना बढ्दा सरकारी मातृ स्वास्थ्य कार्यक्रमप्रति नकारात्मक धारणा आउने सक्ने देखिन्छ ।
पालिका सँगै पोषणको क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाले यस्ता समस्याको सही व्यवस्थापनमा ध्यान दिन नसक्दा नागरिकले आधारभूत स्वास्थ्य सेवा समेत पाउन नसक्नु दुखद: भएको युवा समाजसेवी हजरत अलि खाँ बताउँछन् ।
\औषधी अभावले गर्भवती महिला र दिर्घरोगीको उपचार अनियमित बनेको पर्शोहिया स्वास्थ्य चौकीका प्रमुख अशोक कुमार मिश्राले बताए । औषधी अभावले आमा र बच्चाको स्वास्थ्य प्रभाव पर्नुका साथै शून्य गृह प्रसूतिको नीतिलाई प्रभाव पार्ने भन्दै मिश्राले चिन्ता व्यक्त गरे ।
औषधी अभावले मधुमेह र रक्तचापको औषधी सकिँदा बिरामी रित्तो हात फर्किने गरेको उनले जनाए । आफूले हालै मात्र स्वास्थ्य शाखाको जिम्मेवारी लिएको जनाउँदै पालिकाको सबै औषधीको ढिलो गरि एकमुष्ट औषधी खरिद प्रक्रिया अगाडी बढाएकाले समस्या निम्तिएको यशोधरा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्राले स्विकारे ।
“अति आवश्यक औषधीलाई छोटो रूपमा पहिल्यै खरिद प्रक्रिया गरेको भए अहिले औषधी अभाव हुने थिएन । सबै औषधीको ढिलो गरेर ईबिडिङ्ग गर्दा लामो खरिद प्रक्रियाले औषधी अभावको समस्या आएको हो ।” प्रमुख मिश्राले भने ।
पालिकामा औषधीको टुन्टर प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै औषधीको अभाव समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषवदेव खनालले प्रतिक्रिया दिए ।