© २०२३
काठमान्डौ, २८ मंसिर ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यताबाट निलम्बन गरेको छ ।
सार्वजनिक पदमा नियुक्त भएपछि उनी विभिन्न विवादसँग जोडिन थालेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
कार्यसमितिका एक सदस्यका अनुसार संस्थाको मूल्यमान्यता, विश्वास र निष्पक्षताको मापदण्डलाई ध्यानमा राख्दै निलम्बनको निर्णय लिइएको हो । ‘हाम्रो संस्थाका आफ्नै मूल्य–मान्यता र सिद्धान्त छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँको सदस्यता निलम्बन गर्ने निर्णय गरेका हौं ।’
उनका अनुसार विवाद सुरु भएदेखि नै बराललाई पदबाट राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो । तर, उनले उक्त सुझाव अस्वीकार गरेकी थिइन् ।
कार्यसमितिले विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार गर्न सकिने संकेत पनि गरेको छ । सार्वजनिक पदमा रहँदा उनले नै गर्नुपर्ने निर्णयहरूलाई लिएर सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निलम्बनको निर्णय गरिएको ती सदस्यले बताए ।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन तथा भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल उक्त संस्थाकी साधारण सदस्य हुन् भने यसअघि उनी पटक–पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।