© २०२३
बुटवल, भैरहवा, तौलिहवा हुँदै चन्द्रौटा पुगियो । त्यहीँ बदाम, सुन्तला र बयर किनेर खाँदै यात्रा अघि बढाइयो । दाङको जखेरा तालमा पुगेपछि माधव नेपाल ( मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, फूलबारीका अध्यक्ष) दाइले माछालाई दाना दिए ।
तालमा स्याउँस्याउँती माछा आए दाना खान । मेरा बाबै नि ! माछाको ठेल्मठेला देखेपछि हामी (नेपाल उद्यान महासङ्घका अध्यक्ष खेमप्रसाद लुंईटेल, फूलबारीका महासचिव युवराज घिमिरे र म ) दङ्गै परियो । माछालाई दाना दिएर उनीहरुका गतिविधि हेर्नेहरु कम्ति थिएनन् ।
फराकिलो जखेरा ताल प्रवेशमा पैसा नलाग्दो रहेछ तर बोटिङ्ग गर्दा जनही सय ट्याक्कै तिर्नुपर्ने । मंसिर १९ गते शनिवारका दिन ताल परिसरमा घुम्न, डुल्न र फोटो खिचाउन आउनेहरुको मेला नै लागेको थियो ।
चुरे क्षेत्रबाट बगेर आउने पानीलाई संकलन गरि सिंचाईमा प्रयोग गर्ने हेतूले सम्वत् २००१ सालमा स्थानीय सात गाउँका कृषि उपभोक्ताहरुले उक्त जखेरा ताल बनाएका रहेछन् । व्यवस्थितरुपमा भने २०५५ सालदेखि ताल सञ्चालनमा रहेको पाईन्छ । ताल वरिपरि फूट ट्रेल छ । मन्दिरहरु छन् । पिकनिक स्पर्टहरु छन् । सुन्दर बगैंचा छन् । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले यसको रेखदेख र संरक्षण गर्दै आएको छ भने लुम्बिनी प्रदेश सरकारले मन फुकाएरै आर्थिक लगानी गरेको देखिन्छ ।
नेपाल उद्यान महासङ्घका अध्यक्ष खेमजीले ताल संरक्षण समितिलाई पुष २५ र २६ गते तिलोत्तमा नगरपालिकामा रहेको वनबाटिकामा हुने नेपाल उद्यान महासंघको प्रथम महाअधिवेशनका लागि कर्मचारीमार्फत् अध्यक्षसँग पुग्ने गरि निम्तो–पत्र दिए । बाटाबाटै उनले अध्यक्षलाई मोबाईलमा निमन्त्रणाका लागि अनुरोध समेत गरे ।
हामी दाङकै लमहीबजार पुग्दा साँझको चार बजिसकेको थियो । अजम्बरी सामुदायिक वनले संरक्षण गरि सञ्चालन गरेको जैविक विविधता ग्रीन पार्कभित्र छिर्याैं । त्यहाँ प्रवेश निःशुल्क रहेछ । बजारकै मुटुमा रहेको मनोरम पार्कले सबैको मन खिचिरहेको पायौं । प्रवेशद्वार नजिकै फुल्की र चट्पटे खानेको घुइँचो थियो ।

बनेका राम्रा र बन्न बाँकी संरचनाले पार्कको भविष्य उज्ज्वल हुनेछ । पार्कका अध्यक्ष पवन रिजालसँग केहीबेर भेट्यौं । महाधिवेशनका बारेमा निम्तो र छिमेकी अरु पार्कहरुलाई समेत डोलाएर ल्याउन अध्यक्ष खेमले अध्यक्ष रिजाललाई चिठी थमाए । उनको चिया पिउने अनुरोधलाई थाँती राख्दै पत्रकार दशरथ घिमिरेको प्रतीक्षामा रहँदा पिईसकेको खबर दियौं ।
सोही दिन लमहीको सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको खबर आगोसरि सल्केको थियो । असुरक्षाले मनै कुँडियो । हामीले पार्क हेरुञ्जेल र चिया पियुञ्जेल चालक मनीषले ईभी कारमा चार्ज गरिसकेका रहेछन् । कार अर्जुनखोला पार गरेर उत्तरदिशा घोराहीतिर हुइँक्यो । पाण्डवेश्वर मन्दिर समिति, धारपानीका सचिव विष्णु आचार्यको फोन माधव दाइलाई ट्यार्रट्यार्र बज्न थालेको पनि थुप्रैपटक भईसकेको थियो । हामी घोराही बजारमा पुग्यौं । माधव दाइले दाङ, घोराहीमा रहेका कान्छीबुहारी र नातीलाई भेटे ।
नाती आस्सिएको रहेछ,घ्वाप्पै अङ्गालो हाल्यो र चुम्बन गर्याे बाजेलाई । बाजे–नातीको प्रगाढ सम्बन्ध र स्नेहको शब्दमा बयान असम्भव छ यतिबेला । माधव दाइकी कान्छीबुहारी कृषि ज्ञानकेन्द्र, दाङमा अधिकृत रहेछिन् । छुट्टिनेबेला नाति निराश देखियो तरपनि विदाईको हात हल्लायो । बाजेको मुटु सायद त्यतिबेला गाँठो परेको हुनुपर्छ ! अनि हामी सुइँकिएर धारपानी पुग्यौं । झमक्क साँझ परिसकेको थियो । बाटामा दुई–चारजनालाई सोध्दै मन्दिर परिसर पुग्यौं । प्रहरीचौकीमा सोधेर गजेन्द्र चौधरीको खाजा पसलतिर ओरालो लाग्यौं ।
मकै, चट्नी र तातोपानीसँगै हामीलाई समितिका सचिव विष्णु जीले स्वागत गरे । भोकले होला तातोपानीसँग मकै चपाईयो र चट्नी खुबै चाटियो । त्यतिञ्जेल हामीले परिचयको दायरा फैलाईयो । विष्णु घोराही नपाको कुनै एउटा वडाका वडाध्यक्ष समेत रहेछन् । प्युठानबाट बसाइँसराइ गरि आएर लामो समयको राजनीतिपछि उनी वडाध्यक्ष भएका रहेछन् । फूर्तिला अनि कुरो पनि रसिला गर्दारहेछन् ।
लोकल कुखुराको भुटुवा र झोल मासुसँगै भात स्याम्म खाएपछि जाडोलाई लखट्यौं । गजेन्द्रको कलात्मक पाक्वकलाले जिभ्रोमा मोहनी नै लगायो । खाना खाएपछि घोराहीमा रहेको राप्ती सुपर लजमा सुत्न पुगियो ९ बजे । एकछिन गफ मारियो । राजनीति र सामाजिक चरित्रका विषयमा घनिभूत छलफल गरियो । खेमप्रसादका ऐतिहासिक कुरा सुन्ने अवसर मिल्यो । ठट्टा–मजाक गरियो पनि खुबै ।
माधव दाइका मन छुने रमाईला कुराले युवराज र मेरा मनै रसाए । पाका मान्छेका दिलचस्पी कुराले मन नछुने कुरै भएन । ज्येष्ठ नागरिकका ज्ञान, सीप,कला पुस्तानान्तरण र हस्तान्तरण हुनुपर्छ तर व्यवहारमा देखिएको छैन । हामीले थोरै समयमा अलिकति सार्ने कोशिस गर्याैं । मैले भने कवि विमल गुुरुङको पुस्तक चर्चा गर्दै छोटो भिडियो क्लीप चालक मनीषलाई उनकै मोबाईलबाट खिच्न अनुरोध गरें ।
एकैछिनमा फेसबुक वालमा अप्लोड भयो । भिडियो खिच्नेबेलाको मेरो चर्काे आवाजले पल्लोकोठामा सुतेका माधव दाइको निद्रा बिथोलेको कुरा विहान दाइकै मुखबाट थाहा पाईयो । उता रातभरि युवराजको घुराईले लामो समयसम्मको मेरो पुस्तक पढाईमा संगीत भर्याे । आइतवार विहान ५ वजे उठेपछि नित्यकर्म सुरु भयो हाम्रो । बिस्तारा मिलाएपछि झोलामा आआफ्ना सामान प्याक गरियो ।
होटलमै चिनी नहालेको गोरो चिया पिइयो । माधव दाइले कालो चियामा ब्रेड डोब्न अघि नै सुगरको सुई भूँडीमा छिस्स गोपिसकेका रहेछन् । हाम्रो चिया– पाउरोटी पाटीमा घोराहीकी अल्लो उद्यमी हिसिला वलीको समेत सार्थक सहभागिता रहेको थियो । होटलबाट बाहिरिनासाथ माधव दाइका पहिचानवाला साथी सुन्दर गौतमले कारमा हुँईक्याएर धारपानी पुराए हामीलाई । त्यतिबेला पौने नौ बजिसकेको थियो ।
पाण्डवेश्वर मन्दिर विकास समिति,धारपानीका अध्यक्ष गणेशप्रसाद अधिकारीलगायतका पदाधिकारीसँग भेट्ने अवसर जुर्याे । खेमप्रसाद जीले उद्यान महासंघको संक्षिप्त परिचय,प्रथम महाधिवेशनका बारेमा जानकारी गराए । माधव दाइ, मैले र युवराज जीले पनि थोरैथोरै सम्बन्धित विषयमा मन खोलेर बोल्यौं । अध्यक्ष गणेश जीले भने–चम्चाले उठाएर बेल्चाले फाल्न नसकेपनि महाधिवेशनलाई सक्दो सहयोग गर्ने वचन दिएपछि सुन्दर जीले मन फुकाएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
सचिव विष्णुले महाधिवेशनमा प्रतिधिनिमूलक रुपमा सहभागिता जनाउने प्रतिवद्वता जनाए । एसियाकै ठूलो उपत्यका अनि यो मन्दिर परिसरमा रहेको बडेमानको त्रिशूलकै कारण यतिबेला यो क्षेत्र धेरै नै चर्चामा रहेको छ । कमल पोखरी,गणेश मन्दिर, हनुमान मन्दिर ,हवन कुण्ड,यज्ञ मण्डप, श्राद्व घर समेतले पाण्डवेश्वर क्षेत्रलाई गरिमामय बनाएको छ । १००८ वरपीपल रोपण कार्य अन्तिम चरणमा पुगेको छ । १०८ शिलिङ्ग,१०८ गौमुखी ढुङ्गेधारा र जोर शंखले भक्तजनलाई आकर्षित गरेकै छन् ।
विशेष पर्व र तिथिहरुमा श्रद्धालु भक्तजनहरुको घुँईचो लाग्ने कुरो समितिका साथीहरुबाट थाहा पाईयो । नयाँ पर्यटकीय गन्तव्य बनेको छ । रहर लाग्दो छ । एकान्त परिवेशमा रहेको मन्दिर क्षेत्रमा बज्ने शंख र घण्टीका मधुर आवाजले भक्तजनहरु कृतज्ञ हुन्छन् । पुनः भेट्ने गरी चिया पिउन पनि हतार गरेर हामी तुल्सीपुरको गणेशपुरस्थित राप्ति शान्ति उद्यानतिर प्रस्थान गर्याैं । त्यहाँ पुग्दा ११ वजिसकेको थियो विहानको ।
एक फन्को मारियो उद्यानलाई । त्यहाँभित्र पौडीपोखरी, लघु–चिडियाखाना,बुद्वको स्तूप,शान्ति बाटिका,बालउद्यान,कृत्रिम वन्यजन्तु र जातजातिको पोसाक पहिरिने स्थान भेटेपछि दङ्ग परेर फोटो खिचियो । ११.६६ हेक्टरमा फैलिएको सो उद्यानमा वार्षिक दुई लाख बढी आन्तरिक एवम् बाह्य पर्यटकहरु आउँदा रहेछन् ।
जनही ५० रुपैयाँको टिकट काटेपछि पार्कमा पाईला टेक्न पाईने रहेछ । गणेश सामुदायिक वनक्षेत्रमा पर्दाेरहेछ । वन समूह र उद्यानका पदाधिकारीहरुसँग करिव एकघण्टा दोहोरो सम्वाद गरियो । महाधिवेशनको निमन्त्रणासँगै सो पार्क र फूलबारीबीचको भगिनी सम्बन्ध स्थापित गर्ने सवालमा समेत बातचित भए । छुटिएपछि तुल्सिपुर बजारकै होटलमा खाना खायौं ।
दिउँसोको डेढ बजिसकेको कारण हामी बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा डम्बर जीलाई भेट्ने अवसर गुमायौं । फोनमार्फत् भेट्ने समय जुराई दिन पहल गर्ने टीका बस्नेतसँग भेट्न नपाइएको कुरा जनाएँ । हिसिला र बालिका वलीसँग घोराही र लमहीमा समयाभावका कारण भेट्न असमर्थ रह्यौं ।
दाङको देउखुरीमा रहेको मुख्यमन्त्री कार्यालयमा पसेर मुख्यमन्त्री माननीय चेतनारायण आचार्य ज्यूलाई प्रथम महाधिवेशनको मुख्यअतिथि बन्न निम्तो–पत्र खेमप्रसादले नै दिए । मुख्यमन्त्रीले सकेसम्म आउँछु भने । चार बज्नै लाग्दा हिडियो देउखुरीबाट । चालक मनीषले आफ्नै गतिमा कार कुदाए । चन्द्रौटा नपुग्दै झमक्कै साँझ पर्याे ।
गोरुसिङ्गेमा बिस्कुट र केरा किनेपछि फेरि आफ्नै लयमा हिडियो । अँध्यारो समय,निर्माणाधीन खाल्डाखुल्डी बाटोले गर्दा बुटवल आईपुग्दा रातिको आठ बज्नै लागेको थियो । निम्तो दिन हिडिएको खास कामलाई सक्दो रुपमा पूरा गरियो दुई दिनमा । बाँकी प्रथम महाधिवेशनलाई शान्दार तरिकाले सम्पन्न गर्नुपर्ने दायित्व सबैको नै छ ।