© २०२३
काठमान्डौ, २७ मंसिर ।
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ ।
काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि कार्यकर्ताहरू बिहानैदेखि कार्यक्रमस्थलमा उपस्थित हुन थालेका छन् । देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू भक्तपुरको सल्लाघारी क्षेत्र वरपर भेला भएका छन् ।
उद्घाटन समारोहका लागि विशेष रूपमा तयार पारिएको सांस्कृतिक पहिचान झल्कने आकर्षक मञ्चले सहभागीहरूको ध्यान तानेको छ । मञ्च अवलोकन तथा फोटो खिचाउन चाहनेहरूको उल्लेखनीय भीड देखिए पनि सुरक्षाका कारण हाल मञ्चस्थलमा प्रवेश गर्न दिइएको छैन । त्यहाँ प्रवेश गर्न खोज्नेहरूलाई प्रहरीले रोकेको छ ।
एमालेले महाधिवेशनको उद्घाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी गरेको छ । उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम पनि तय गरिएको छ ।
उद्घाटन समारोहमा पाहुनाका रूपमा १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिइएको एमालेले जनाएको छ ।