© 2026
बाँके, २७ मंसिर ।
धान भित्राउने चटारो सकिएको केही दिन भइसकेकाले अहिले थारु महिलाहरूमा एक किसिमको हल्कोपन छ ।
न खेत जोत्न गोरु धपाउनुपर्ने, न बाली टिप्न धौ–धौ । खेत बारीमा हिउँदे साग–सब्जी लगाइसकेपछि गाउँका धेरै महिलाहरूलाई फेरि फुर्सदिलो समय मिलेको छ । यही फुर्सदलाई उनीहरूले ‘माछा मार्ने मौसम’ भनेर चिन्छन् ।
आज पानी सफा छ, ठुला सिधरा भेटिन सक्छ,” बाँकेको बैजानाथ गाउँपालिका वडा नम्वर ८ गुरदयालपुरकी ५० वर्षीया दामीया थारुले घरको आँगनमै साथीहरूको समूहलाई भन्दै थिइन् ।
हातमा बाँसको डुम्सी, टाउकोमा टोकरी, (हेल्का र डिलिया) कम्मरमा सानो गुच्छा अड्याएर उनी खोल्सातिर हिँड्दै थिइन् । उनीसँगै उनका–छोरीहरू पनि थिए ।
कसैले अचार हाल्ने सानो प्लास्टिक बोकेका छन्, कसैले पेवा माछा धेरै परेपछि राख्न सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ । बाटोभरि खेतमा उभिएका बुट्यान, भर्खरै काटिसकेका धानका ठुटा र ओसले भिजेको माटो—यी सबै दृश्यहरूले यात्रालाई रमाइला बनाइरहेका छन् ।
खोल्साको छेउमा पुग्ने बित्तिकै केही महिलाहरूले सलबल बगिरहेको पानीमा हात डुबाएर परीक्षण गर्छन् । “आज पानी मधुरो छ, माछा सुलुत्त लुक्छ नि,” ७० वर्षीया जगिया थरुनी आमैले हाँस्दै सुनाइन् ।
जीवनको ठुलो अंश खेत, जङ्गल र खोल्सासँग बिताएकी उनी माछाको चाल–ढाल पहिचान गर्ने स्वतःस्फूर्त क्षमता राख्छिन् । उनी भन्छिन्, “माछा कहाँ बस्छ, कुन ठाउँमा डुम्सी राखे फस्छ—हामी कहिल्यै किताब पढेर होइन, आँखाले देखेर, हातले छामेर सिकेका ।”
थारु महिलाहरूको माछा मार्ने कला केवल गुच्छा चलाउने वा डुम्सी राख्ने सीपमा मात्र निर्भर हुँदैन । उनीहरूको सीप प्रकृतिप्रतिको ज्ञानबाट जन्मिएको हो—कुन मौसममा कुन माछा कहाँ पाइन्छ, पानी कति बढेपछि जाल हान्नुपर्छ, कति घटेपछि डुम्सी थाप्नुपर्छ ।
यी सबै ज्ञान पुस्तादेखि पुस्तामा महिला–महिलाबिच सर्नु थारु समुदायको विशिष्ट विशेषता हो । कहिलेकाहीँ त बूढी आमाहरूले नातिनीहरूलाई सिकाउन खोल्साको छेउमा थुप्रै ‘पाठ’ नै चलाउँछन् ।
सिडिया, ढुकरी, पुतली, गुर्खा—यी थारु महिलाहरूले सहजै छुट्टाउने माछाका नाम हुन् । प्रत्येक माछाको स्वाद, पकाउने तरिका र घरमा कसलाई मन पर्छ भन्ने कुरा उनीहरूलाई कणकणमा झल्किन्छ ।
सधैं खेत–बारीका दायित्वले व्यस्त देखिने थारु महिलालाई यो फुर्सद–मौसम एक प्रकारको मानसिक विश्राम–उत्सवजस्तै लाग्छ । धान काट्ने र भित्राउने कठोर मेहनतपछि हिउँदे बाली रोपिसक्दा शरीर र मन दुइटै थाकेका हुन्छन् । “अब त केही दिन फुर्सद पाइन्छ, माछा मार्दै रमाइलो गर्छौँ,” ४० वर्षीया मनमाया थारुले भनिन् ।
गाउँमा १५–२० जनाका समूह बन्नु सामान्य कुरा हो । बिहान ८ बज्नासाथ ती समूहहरू दयार, पोखरी, खोल्सा, नहरतिर छुट्टिन्छन् । पानीमा खुट्टा डुबाएर बस्दा दिनभरको थकाइ आफैँ पग्लन्छ र हाँसो नै औषधि बनिदिन्छ ।
माछा मार्ने समूह केवल माछा ल्याउनकै लागि बनेको होइन । यो महिला–एकताको सामाजिक केन्द्र पनि हो । खोल्सातिरका ती दुई–तीन घण्टामा उनीहरू परिवारका समस्यादेखि गाउँका आयोजनासम्म खुलेर छलफल गर्छन् ।
“हामीले कतिपय निर्णय यही खोल्सैमा गर्छौँ,” भगवती थारु भन्छिन् । “धेरैजसो कुरा हामीलाई माछा मार्दा नै सजिलो लाग्छ । घरको चटारो र बुभु–छोराछोरीका आवाजले नछेक्ने वातावरण हो, हैन र ?” माछा मार्ने सामूहिकता एक किसिमको ‘थेरेपी’ पनि बनेको छ ।
जहाँ महिला–महिलाबिचको आत्मीयता, साझा पीडा र साझा खुसीको आदानप्रदान सहजै हुन्छ । एक छिनमै डुम्सी उठाउँदा केही सिधरा र चिप्ली फसेका देखिन्छन् । बालिका सीता दौडिएर हाँस्दै आउँछे—“दिदी, ठुला परे !”
महिलाहरूको हाँसो फेरि उम्लिन्छ । “आज त राम्रो खाजा बनाउनु पर्छ” एकले भन्छिन् । “तीतेपाती राखेर झोल बनाउँछु, ससुरा ढुकढुकीले खानुहुन्छ,” अर्कोको प्रतिक्रिया आउँछ । घर फर्कँदासम्म उनीहरूको टोकरीमा थुप्रै माछा जम्मा भइसकेका हुन्छन् ।
केटा–केटीहरू बाटैमा उफ्रन थाल्छन् । दैलोमा उभिएका मैले–बाजेहरू माछा देखेर मुस्कुराउँछन् । गाउँमा माछा आएको खबर आफैँ फैलिन्छ । थारु भान्साको स्वाद माछा बिना अधुरो हुन्छ । सुकाएको माछा, धुवाँमा राखेर कोटेको, फ्राई, झोल—यी सबै परिकार महिलाहरूका सीपले जीवन्त रहन्छन् ।
माछा मार्ने कार्य केवल रमाइलो होइन, कतिपय महिलाका लागि सानो आर्थिक स्रोत पनि बनेको छ । गाउँदेखि नजिकैको बजारसम्म पैदलै लिएर जाने महिलाहरू दैना–पैना खर्च चलाउन माछा बेचेर केही रकम कमाउँछन् ।
“माछा बेचेर नै हामीले घरका सानो–साना सामान किन्न सक्छौँ,” सोही वडा टिटिहिरियाकी ३५ वर्षीया राधा थारुले भनिन् । यसले उनीहरूलाई आर्थिक रूपमा आत्मविश्वासी बनाएको छ ।
थारु समुदायमा माछा केवल परिकार होइन—यो पहिचान हो । विवाह, भोज, मङ्गल–धाम, पूजा–पर्व सबैमा माछाको आफ्नै भूमिका छ । धान भित्राएपछि “नयाँ बाली चढाउने” संस्कारमा त ताजा माछा अनिवार्य मानिन्छ ।
पुराना दाजु–बाजेहरू भन्छन् “पानीसँग जोडिएको जीवन नै थारु जीवन हो ।” त्यसैले माछा मार्ने परम्परा केवल दैनिकीको सीप होइन, संस्कारको निरन्तरता पनि हो ।
ट्र्याक्टरले हल जोत्ने, मोटरसाइकलले खेत–बारी छिचोलिने र बजारबाट ल्याइएका परिकारले घरको मेनु बदलिने क्रममा थुप्रै पुराना परम्परा हराउँदै गएका छन् । तर, उचित समयमा गाउँका ती खोल्सा–नहरमा निस्कने थारु महिलाहरू भने पुरानै ताल–मेलमा भेटिन्छन्, गुच्छा चलाउँदै, हाँस्दै, गीत गाउँदै ।
कसैले मोबाइलमा फोटो खिच्छन्, कसैले टिकटक बनाउन खोज्छन् तर जाल फाल्ने शैली भने उही पुरानै । यही निरन्तरता थारु संस्कृतिको सांस्कृतिक जीवन्तता हो ।
घर फर्किँदासम्म घाम माथि पुगिसकेको हुन्छ । पानी टल्किन छाड्छ । महिलाहरूको डिलियामा जम्मा भएका माछाले दिनभरको भोजन र खुसीको व्यवस्था गरिसकेको हुन्छ । अनि आँगनमा तेल ततिन्छ, माछाको सुगन्ध फैलिन्छ । केही छिमेकीहरू भेला हुन्छन् “आज त मेजमानीजस्तै भयो !”
यतिखेर ती महिलाहरूको अनुहारमा एकै प्रकारको सन्तुष्टि देखिन्छ—केवल माछा भेटिएको खुसी मात्र होइन, थकान पखालिएको अनुभूति, साथीहरूसँग बितेको समय र संस्कृतिसँग पुनः जोडिएको आनन्द ।
यहाँका थारु महिलाहरूको ‘फुर्सदमा माछा मार्ने’ चलन केवल पानीमा खेल्ने मात्र होइन जीवनशैली हो । यो सीप उनीहरूले आफ्नी आमाबाट सिके, आमा–ससुराबाट सिके, अनि आफ्ना छोरी–नातीहरूलाई सिकाइरहेका छन् ।