Butwal Today

एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २७ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीलाई शुभकामना दिएकी छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि भिड्ने यी दुई टोलीलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना सन्देश दिँदै लेखेकी छन्, “सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।”

लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ भने सुदूरपश्चिम रोयल्सको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले गर्दैछन् ।

फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । यस खेलमा जसले जित्ने हो, एनपीएलको नयाँ च्याम्पियनको उपाधि पनि त्यो टोलीले पाउनेछ ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पार गर्दै फाइनल यात्रा तय गरेको छ । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनल पुगे पनि जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक जनकपुर लिग चरणमै बाहिरिएको छ ।