© २०२३
काठमान्डौ, २७ मंसिर ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधि सूचीप्रति वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् ।
हिजो बसेको सचिवालय बैठकमा मनोनीत प्रतिनिधि सूची अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर अन्तिम गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दुबै पक्ष बसेर सूची अन्तिम रूप दिने तयारी गरिएको थियो ।
तर पोखरेलले आफूलाई जानकारी नदिइ एकपक्षीय ढंगले सूची सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले सहमति प्रक्रियाको बेवास्ता गर्दै सूची प्रकाशन गर्नु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए ।
मनोनीत प्रतिनिधि सूचीलाई लिएर उत्पन्न विवादले एमाले नेतृत्व तहमा असन्तुष्टि बढेको संकेत दिएको छ । यस विषयमा पार्टी नेतृत्वबीच थप छलफल आवश्यक रहेको नेताहरूले बताएका छन् ।